होटल खोज्दै जेलमा पुगेकी महिलालाइ आयो यस्तो जवाफ!


फिलिपिन्सको बागुइयो सहर घुम्न जाने योजना बनाएकी एक महिलाले होटल खोज्ने क्रममा गल्तीवश महिला कारागारलाई नै होटल सम्झेर कोठा बुक गर्न सन्देश पठाएकी छन्। उक्त रमाइलो संवाद सामाजिक सञ्जालमा भाइरल बनेपछि लाखौं मानिसले हेरेका छन्।

महिलाले फेसबुकमार्फत “यो सप्ताहन्तका लागि कोठा खाली छ?” भनेर सन्देश पठाएकी थिइन्। त्यसको जवाफमा कारागार प्रशासनले शिष्टतापूर्वक, “म्याडम, यो महिलाहरूको जेल हो, होटल होइन,” भन्दै जानकारी गरायो। आफ्नो गल्ती थाहा पाएपछि ती महिलाले तुरुन्तै माफी मागिन्।

महिलाको अनुमति लिएर फिलिपिन्सको ब्युरो अफ जेल म्यानेजमेन्ट एन्ड पेनोलोजीले उक्त च्याटको स्क्रिनसट आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेपछि घटना भाइरल बनेको हो। संस्थाले मजाकिया शैलीमा “हाम्रा जेल सुविधा होटल होइनन्” भन्दै सार्वजनिकलाई सही ठाउँमा बुकिङ गर्न पनि सम्झाएको थियो।