वीरगञ्ज।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार तोकिएको निषेधित क्षेत्रमा कुनै पनि प्रकारका सार्वजनिक भेला, प्रदर्शन वा जुलुस गर्न नपाइने प्रशासनले जनाएको छ। आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
प्रशासनका अनुसार निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा यसप्रकार रहेको छः
- पूर्व: प्रतिमा चोक हुँदै बाइपास रोड
-पश्चिम: तिलावे पुल
-उत्तर: गण्डक चौक
-दक्षिण: शंकराचार्य गेट
वीरगञ्जमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।











प्रतिक्रिया