एक्लै रहेकी काजलको भ्यानमा सर्ट फुकालेर किन छिरे सहायक निर्देशक !


भारतीय अभिनेत्री काजल अग्रवालले फिल्मको सेटमा आफूले भोगेको एक डरलाग्दो अनुभव सार्वजनिक गरेकी छन्। एक अन्तर्वार्ताका क्रममा उनले चलचित्रको छायांकनका बेला एक सहायक निर्देशक बिना अनुमति आफ्नो भ्यानमा प्रवेश गरेर छातीमा बनाएको आफ्नो नामको ट्याटु देखाएको खुलासा गरेकी हुन्।

एबीपी न्युजसँगको कुराकानीमा काजलले छायांकनपछि आफ्नो भ्यानमा आराम गरिरहेका बेला ती सहायक निर्देशक अचानक ढोका नढक्ढक्याई भित्र छिरेको र त्यसपछि सर्ट फुकालेर छातीमा बनाएको आफ्नो नामको ट्याटु देखाएको बताइन्। उक्त घटनाले आफू निकै डराएको र केहीबेर हातखुट्टा नै काँपेको उनले स्मरण गरिन्।

काजलका अनुसार कसैले आफ्नो नामको ट्याटु बनाउनु प्रशंसकको माया हुन सक्छ, तर कुनै महिलाको निजी स्थानमा बिना अनुमति प्रवेश गर्नु स्वीकार्य व्यवहार होइन। उनले यस्तो कार्य असभ्य, गैरजिम्मेवार र कानुनी कारबाहीसम्म पुग्न सक्ने चेतावनी दिँदै ती व्यक्तिलाई त्यहाँबाट पठाएको बताइन्।

व्यावसायिक रूपमा काजल अग्रवाल अब पौराणिक चलचित्र ‘रामायण’मा मन्थराको भूमिकामा देखिने तयारीमा छिन्। यसअघि उनी ‘सिङ्घम’ र ‘स्पेशल २६’ जस्ता सफल फिल्मबाट दर्शकमाझ चर्चित बनेकी थिइन्।