म्याग्दी।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक रुपमा सबल र सक्षम बनाउन सबै क्षेत्रबाट सहयोगको आवश्यकता औंल्याइएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुसँगको भेटघाटका क्रममा उच्च शिक्षाको शैक्षिक धरोहरका रुपमा स्थापित यस क्याम्पसलाई थप सबल बनाउनको लागि सहयोग गर्नुपर्नेमा जोड दिइएको हो ।
पत्रकार भेटघाट कार्यक्रममार्फत आउँदा दिनमा क्याम्पसलाई अझ सबल र सक्षम बनाएर समुदायको आफ्नो ठाउँमा उच्च शिक्षा हासिल गर्ने चाहनालाई सुनिश्चित गर्न निरन्तर रुपमा आर्थिकसहित विभिन्न सहयोगको अपेक्षा गरिएको छ । क्याम्पसलाई शैक्षिक उन्नयनको थलोका रुपमा विकास गरेर अगाडि बढाउनका लागि संघ तथा प्रदेश सरकार, जिल्लास्थित स्थानीय तह सबै, संघसंस्था, सरोकारवाला, अभिभावक, विद्यार्थीहरु र आम जनसमुदायमा अपिल गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ ।
म्याग्दी क्याम्पसले जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गरी यहाँ भैरहेको बसाइसराइँ, जनशक्ति अभाव तथा अन्य सामाजिक र आर्थिक क्षेत्रको समस्या समाधानमा आवश्यक भूमिका खेलिरहेको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक क्याम्पसले प्राध्यापक तथा कर्मचारी र प्रशासनिक खर्चको स्रोत व्यवस्थापन गर्नका लागि नेपाल सरकारबाट अनुदान प्राप्त नगर्ने भएकाले उक्त खर्च जुटाउन चन्दा अभियान वा विद्यार्थीहरुबाट मासिक शुल्कमा भर पर्नुपर्ने बाध्यता रहेकाले समुदायमा समेत थप आर्थिक भार बढिरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट पर्याप्त सहयोग नहुँदा क्याम्पसले गम्भीर आर्थिक सङ्कट भोग्नुपरिरहेको छ ।

कार्यक्रममा क्याम्पसमार्फत शैक्षिक गुणस्तर वृद्धि, जनशक्तिको व्यवस्थापन र आवश्यक स्रोतसाधन जुटाउने कार्यमा तीनै तहका सरकारसहित सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । पछिल्लो समय क्याम्पस तहमा घट्दै गैरहेको विद्यार्थीको सङ्ख्या, बसाइसराइँ र पढाई छाडेर बीचैमा वैदेशिक रोजगारीमा जाने प्रचलनले शैक्षिक संस्था सञ्चालनमा समेत समस्या उत्पन्न भैरहेको हुँदा यसको समाधान गर्नका लागि राज्यका साथै सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले ग्रामीण क्षेत्रबाट विद्यार्थीहरुको बसाइसराइँ रोक्न तथा क्याम्पसको दीगो शैक्षिक विकास र स्रोतसाधनको व्यवस्थापनमा तीनवटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
म्याग्दी बहुमुखी क्याम्पसले वि.सं. २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरि क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (क्युएए) प्राप्त गरेको थियो । देशैभर करिब १२ वटा क्याम्पसहरुले मात्रै दोस्रोपटक क्युएए पाएकोमा म्याग्दी बहुमुखी क्याम्पस पनि पुनः क्युएए प्राप्त गर्ने अवस्थामा रहेको छ । यसकारण पनि क्याम्पसले गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि जिल्ला छोड्नुपर्ने अवस्था नरहेको समेत पुष्टि गर्दछ । म्याग्दी क्याम्पसले हरेक वर्ष कुल विद्यार्थी सङ्ख्षाको १० प्रतिशतका दरले छात्रवृत्ति रकम प्रदान गरिरहेको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
छात्रवृत्तितर्फ शैक्षिक सत्र २०८२÷०८३ मा म्याग्दी क्याम्पसले कक्षा ११, १२, बिए, बिबिएस, बिएड र बिआईसिटीई अध्ययनरत विद्यार्थीहरुमध्ये १ सय ५८ जनालाई कुल ११ लाख १० हजार रुपैयाँ छात्रवृत्तिको रकम वितरण गरिएको क्याम्पस प्रमुख सुवेदीको भनाइ छ । विभिन्न क्षेत्रबाट छनोट भएका विद्यार्थीहरुले प्रतिव्यक्ति न्यूनतम तीनहजार रुपैयाँदेखि २३ हजार रुपैयाँसम्म छात्रवृत्ति रकम पाएका छन् । विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि क्याम्पसमा विभिन्न कोषहरुको पनि स्थापना गरिएको छ ।
वि.सं. २०४८ साल पुस १७ गते स्थापना भएको यस म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२ देखि स्नातकोत्तर तहसम्म बिए, बिबिएस, बिएड, बिआईसिटीई, एमबिएस र एमएडका कक्षाहरु सञ्चालनमा रहेका छन् । अहिले कक्षा ११ मा नयाँ भर्नाको कार्यक्रम सञ्चालन भैरहेको छ भने स्नातक तह र स्नातकोत्तर तहमा गरी हाल ८ सयजना विद्यार्थीहरु अध्ययनरत छन् ।












प्रतिक्रिया