४ वटा आँपको मूल्य साढे ३ लाख रुपैयाँ मियाजाकी आँपले बनायो कीर्तिमान


भारतकाे उत्तर प्रदेशको सहारनपुरका किसान सन्दीप चौधरीले उत्पादन गरेको विश्वकै महँगो मानिने जापानी ‘मियाजाकी’ प्रजातिको आँप भारतमा रेकर्ड मूल्यमा बिक्री भएको छ। गुजरातको सुरतका व्यापारी प्रवीण गुप्ताले करिब १ किलो तौल भएका ४ वटा मियाजाकी आँप २ लाख ११ हजार भारतीय रुपैयाँ (करिब ३ लाख ३७ हजार नेपाली रुपैयाँ) मा खरिद गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा ती आँपको मूल्य ३ लाख ५० हजार भारतीय रुपैयाँ निर्धारण गरिएको थियो। तर व्यापारी गुप्ताले आफ्नी आमाको सम्मानमा ती आँप खरिद गर्न लागेको जानकारी पाएपछि किसान चौधरीले १ लाख ३९ हजार रुपैयाँ छुट दिँदै २ लाख ११ हजार रुपैयाँमै बिक्री गर्न सहमति जनाएका हुन्। हालसम्म १ लाख ११ हजार रुपैयाँ अनलाइनमार्फत भुक्तानी भइसकेको छ भने बाँकी रकम आँप हस्तान्तरणका क्रममा बुझाइने बताइएको छ।

थरोली गाउँका किसान चौधरीले तीन वर्षअघि परम्परागत खेतीभन्दा फरक सोचका साथ मियाजाकी आँपको खेती सुरु गरेका थिए। सुरुमा धेरैले उनको निर्णयको खिल्ली उडाए पनि अहिले उनको बगैंचामा करिब ४० वटा मियाजाकी आँपका बोट रहेका छन्।

चौधरीले यस बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत विपन्न तथा गरिब परिवारको सहयोगमा खर्च गर्ने घोषणा पनि गरेका छन्। साथै उनले अन्य किसानलाई परम्परागत खेतीसँगै उच्च मूल्य दिने नयाँ तथा प्राङ्गारिक बाली अपनाउन आग्रह गरेका छन्।

जापानमा विकास गरिएको मियाजाकी आँप आफ्नो गाढा रातो–बैजनी रङ, अत्यधिक मिठास र उच्च पोषणका कारण विश्वकै सबैभन्दा महँगो आँपमध्ये एक मानिन्छ। यसमा भिटामिन ए, भिटामिन सी, बेटा–क्यारोटिन तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने बताइन्छ।