काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख व्यक्त गर्दै देशभरका नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आह्वान गरेका छन्।
बिहीबार निर्मल निवासबाट जारी गरेको सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपालको पहिचान र अन्तर्राष्ट्रिय सम्मान स्थापित गरेको बताएका छन्।
उनले नेपाली समाजको पहिचान आपसी मेलमिलाप, सहअस्तित्व र भाइचारामा आधारित रहेको उल्लेख गर्दै यसलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
केही दिनअघि सुनसरीका विभिन्न गाउँबस्तीमा भएको विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी प्रदेशका अन्य क्षेत्र तथा तराईका जिल्लासम्म फैलिएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
नेपाल सामाजिक सद्भाव र समुदायबीचको सहकार्यका लागि परिचित मुलुक भएको उल्लेख गर्दै यस्ता अप्रिय घटनाले देशको मौलिक संस्कृति र सामाजिक मूल्यमा नकारात्मक असर पार्ने उनको भनाइ छ।
पूर्वराजा ज्ञानेन्द्रले देशका सबै नागरिकलाई संयमता अपनाउन, आपसी विश्वास कायम राख्न र सामाजिक सद्भावलाई थप बलियो बनाउन आग्रह गरेका छन्।
‘जुनसुकै भूभागमा बसे पनि हामी सबै नेपाली एकताबद्ध भएर अघि बढौँ। अहिलेको आवश्यकता यही हो,’ सन्देशमा उल्लेख छ।











प्रतिक्रिया