सिरहाको गोलबजार तनावग्रस्त : गोली लागेर एक युवकको मृत्यु, प्रदर्शन जारी


काठमाडौँ।

सिरहाको गोलबजारमा कर्फ्यूका बीच भएको प्रदर्शनका क्रममा गोली लागेर करिब १८–१९ वर्षीय गणेश यादवको मृत्यु भएको छ। उनी सिरहाको मिर्चैया नगरपालिका–तुलसीपुरका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।

प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गरेका छन्। तर, प्रहरीले भने आफूहरूले गोली नचलाएको र हवाई फायर तथा अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घटनामा एक जना घाइते भएका छन्।