आगामी भदौ १२ गते रिलिजमा आउने फिल्म पार्वतीले टिजरमार्फत दर्शकमाझ भावनात्मक छाप छोड्ने प्रयास गरेको छ। गुरुपूर्णिमाको अवसर पारेर बुधबार सार्वजनिक गरिएको टिजरमा अटिजम भएकी दिदी र उनका भाइबीचको निःस्वार्थ मायालाई केन्द्रमा राखिएको छ।
एक मिनेट ५७ सेकेन्डको टिजरमा पार्वतीको भूमिकामा रहेकी नीता ढुंगाना र उनका भाइको भूमिकामा रहेका बालगायक अशोक दर्जी मात्र देखिएका छन्। दिदी-भाइबीचको आत्मीय सम्बन्ध, स्नेह र भावनात्मक उतारचढावले टिजरलाई मार्मिक बनाएको छ। संवादभन्दा भावनाले कथा बोल्ने शैलीमा तयार पारिएको टिजरले फिल्मप्रति दर्शकको जिज्ञासा पनि बढाएको छ।

यसअघि सार्वजनिक गरिएको रत्यौली गीत ‘नौतुना खेलैमा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ। अब भावनात्मक टिजर सार्वजनिक भएसँगै निर्माण टिमले फिल्मको प्रचारलाई थप प्रभावकारी बनाएको छ। नीता ढुंगानाको कथा तथा निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पटकथा निर्देशक ढुंगानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका हुन्। सुदीप बराल डीओपी रहेका फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्। शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। सम्पादन, टिजर तथा ट्रेलर निर्माणको जिम्मेवारी साहिल खानले सम्हालेका छन्।
फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र साहिमा श्रेष्ठको स्वर रहेको छ। गीतका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत दीपक शर्मा, बाबुल गिरी र प्रशान्त शिवाकोटीलगायतले दिएका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेन्मेन्ट र रिच इन्टरटेन्मेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।











प्रतिक्रिया