स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल, मन्त्री मेहताबाट शपथ ग्रहण


काठमाडौं ।

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गत साउन ८ गते मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्याकुरेललाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेकी थिइन्। नियुक्तिपछि हुने शपथग्रहण कार्यक्रम भने बीचमा डा. गोविन्द केसीको सत्याग्रह, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि देशव्यापी चिकित्सक आन्दोलनका कारण स्थगित भएको थियो।

सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएपछि बुधबार बिहान स्वास्थ्य मन्त्री मेहताले डा. प्याकुरेललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। शपथ ग्रहणलगत्तै डा. प्याकुरेलले स्वास्थ्य बीमा बोर्डको कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। स्वास्थ्य बीमा क्षेत्रका अनुभवी विज्ञका रूपमा परिचित डा. प्याकुरेलले लामो समयदेखि स्वास्थ्य बीमा नीति, व्यवस्थापन तथा सुधारका क्षेत्रमा काम गर्दै आएका छन्। स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी र दिगो बनाउन उहाँले विभिन्न नीतिगत बहस तथा सुधारका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

स्वास्थ्य बीमा बोर्डको नेतृत्व सम्हालेसँगै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय दाबी भुक्तानीमा ढिलाइ, सेवा प्रवाहमा देखिएका समस्या, स्वास्थ्य संस्थासँगको समन्वय तथा बीमित नागरिकको सेवामा सुधार आवश्यक रहेको अवस्थामा नयाँ नेतृत्वले बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई सार्वभौमिक स्वास्थ्य सेवाको आधारका रूपमा विकास गर्ने नीति लिँदै आएको छ। नयाँ अध्यक्षको नियुक्तिसँगै स्वास्थ्य बीमा प्रणालीमा देखिएका चुनौती समाधान गर्दै कार्यक्रमलाई थप विश्वासिलो र प्रभावकारी बनाउनेतर्फ बोर्डले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।