काठमाडौँ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित हांगु जिल्लाको खजिना चेक पोस्टमा बुधबार भएको भीषण आक्रमण र त्यसपछिको प्रतिकार कारबाहीमा डीएसपी दियार खानसहित ९ जना प्रहरीको मृत्यु भएको छ। घटनामा डीएसपी मुजाहिद हुसेनसहित २८ जना प्रहरी घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रहरीका अनुसार भारी हतियारसहित आएका आक्रमणकारीहरूले प्रहरी चौकीमा हमला गरेपछि लामो समयसम्म दोहोरो भिडन्त भएको थियो।
प्रहरीको दाबीअनुसार प्रतिआक्रमणमा १५ जना अतिवादी मारिएका छन्, यद्यपि स्वतन्त्र रूपमा यो संख्या पुष्टि हुन सकेको छैन। यसअघि पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तानमा सञ्चालन गरिएका छुट्टाछुट्टै कारबाहीमा ३२ जना अतिवादी मारिएको जनाएको थियो।
सेनाका अनुसार यी अभियानहरू अतिवादी समूह र उनीहरूका समर्थकविरुद्ध लक्षित थिए। हालसम्म कुनै पनि समूहले हांगु आक्रमणको जिम्मेवारी सार्वजनिक रूपमा स्वीकार गरेको छैन। यद्यपि पाकिस्तानी अधिकारीहरूले हालका महिनाहरूमा सुरक्षा निकायमाथि बढेका यस्ता आक्रमणका लागि प्रायः तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) लाई जिम्मेवार ठहराउने गरेका छन्।











प्रतिक्रिया