रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ बोकेझुन्डा निवासी भोला वाइवाले गत जेठमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चुम्न सफल भए । उनी भन्छन्, ‘आँट र भरोसाले सगरमाथाको चुचुरोमा पु¥यायो ।’
२०५१ सालमा बुबा तार लामा वाइवा र आमा मेन्दो साङ्बो तामाङको कोखबाट जन्मिएका उनी बुझ्ने भएपछि रसुवा मावि, धुन्चेमा पढ्न जान थालेका हुन् । सात कक्षा पढ्दै गर्दा उनका बुबाको मृत्यु भयो । त्यति बेलादेखि नै उनको पढाइमा ब्रेक लाग्यो । घरको स्थितिले उनलाई ट्रेकिङ गाइड बनायो अनि यसै क्रममा सगरमाथा चुम्न सफल भए ।
एउटा छोरो, विपन्न परिवार, बुबाको मृत्युु, दुई बहिनीलाई हेर्नुपर्ने, आमालाई सम्हाल्नुपर्ने, व्यवहार पनि सम्हाल्नुपर्ने भएका कारण १४ वर्षदेखि घर छाडेर उनी ट्रेकिङ हिँड्ने काम गर्न थालेका हुन् । उनी पहिलोपटक ५ हजार १ सय १६ मिटर उचाइको ट्रेक लार्के पास पुगे । हिम्मतका साथ त्यति बेलादेखि ठूलै हिमाल चढ्छु भन्ने लागेको थियो रे उनलाई ।
अहिले ३२ वर्षको उमेरमा गत जेठ ६ अर्थात् मे २० तारिखका दिन बिहान ५ः५० बजे ८ हजार ८ सय ४८.८६ मिटरको उचाइमा रहेको विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोचोटि पाइला टेके । उनी बेस क्याम्पबाट ४ दिनको हिँडाइपछि चुचुरोमा पुगेका थिए । त्यहाँ पुगेपछि उनले सबैभन्दा पहिले आफ्नो बुबालाई सम्झिए । उनले मनमनै भने, ‘बुबा तपाईं जहाँ भए पनि खुशी हुनु, तपाईंको छोराले आज सगरमाथा चढेर तपाईंलगायत परिवारको इज्जत राख्यो ।’
उनको गाउँमा बोलाउने नाम सोनाम वाइवा रहेको छ । सोम भनेर चिन्छन् स्थानीयले । उता स्कुलमा शिक्षकले भोला भनेर नाम राखेका रहेछन् । उनी भलाद्मी भएका कारण भोला राखिएको रे । आफ्नो विगत सम्झिँदै भन्छन्, ‘अब अरू हिमाल चढ्ने इच्छा छ ।’ उनको साहसको प्रशंसा गर्दै गोसाइँकुण्ड गाउँपालिका नागरिक समाज, पर्यटन तथा होटल व्यवसायी संघलगायत थुप्रैले उनलाई सम्मानसमेत गरेका छन् ।
आमा मेन्दो भन्छिन्, ‘ऊ १४ वर्षको हुँदा बुबा बित्नुभयो । कहाँ जाने, कहाँ बस्ने, के खाने भन्ने थियो, जब कमाउने मानिस नै नभएपछि राम्रो शिक्षा पनि पाएन उसले । घर व्यवहार धान्नलाई ट्रेकिङ हिँड्यो । जान्नेबुझ्ने भएपछि हिमाल चढ्यो । यसमा खुशी लागेको छ ।’
उनका ठूलो हजुरबुबा लायुल तामाङ १८ वर्ष माननीय भएका थिए । अहिले उनकै वंशले सगरमाथा चढेर थप इतिहास रचेको यो गौरवको विषय बनेको पर्यटन तथा होटल व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घले बताउँछन् ।











प्रतिक्रिया