जोखिम स्वीकार्दै स्वदेश फर्किने हसिनाको घोषणा, ‘डिसेम्बरसम्म बङ्गलादेश पुग्छु’


एजेन्सी।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन्।

भारतमा निर्वासनमा रहँदै आएकी ७८ वर्षीया हसिनाले एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा आफूलाई स्वदेश फर्किन जनताबाट निरन्तर आग्रह भइरहेको बताइन्। उनले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहे पनि मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने स्पष्ट पारिन्।

“मेरो ज्यान जान सक्छ, पक्राउ पर्न सक्छु वा जेल जानुपर्ने हुन सक्छ, तर म त्यसका लागि तयार छु,” उनले भनिन्।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन समाप्त भएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेरेपछि उनी हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दमनका क्रममा गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो।

गत नोभेम्बरमा ढाकास्थित एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। तर हसिनाले उक्त निर्णयलाई “कानूनको आवरणमा गरिएको राजनीतिक प्रतिशोध” को संज्ञा दिएकी छन्।

भारतको गोप्य स्थानमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फर्कने निर्णय कुनै बाह्य दबाब वा भारतसँगको प्रत्यर्पण प्रक्रियासँग सम्बन्धित नभएको बताइन्। उनका अनुसार बङ्गलादेशले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि भारतीय अधिकारीहरूले त्यसबारे आफूसँग कुनै छलफल गरेका छैनन् र आफू भारतमा सम्मानपूर्वक बसिरहेको उल्लेख गरिन्।

हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः सुधार हुँदै गएको बताइएको छ।

मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर हसिनाले ती सबै आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियान भन्दै प्रत्येक घटनापछि अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिएको दाबी गरिन्।

विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि उनले अस्वीकार गरिन्। आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान सरकारले धैर्यका साथ प्रयास गरेको दाबी गर्दै उनले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान भएको आरोप लगाइन्।

भारतमा हालै भएका विद्यार्थी नेतृत्वका प्रदर्शनबारे टिप्पणी गर्न उनले अस्वीकार गरिन्। साथै, प्रतिबन्धको सामना गरिरहेको आफ्नो अवामी लिग पार्टीमार्फत स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीतिमा फर्किने वा नफर्किने विषयमा पनि उनले स्पष्ट जवाफ दिइनन्।

हसिनाले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएका सबै परिवारप्रति सहानुभूति व्यक्त गरे पनि उनले माफी माग्न अस्वीकार गरिन्। राज्यका निर्णय कुनै एक व्यक्तिले मात्र नगर्ने भएकाले आन्दोलनका क्रममा लिइएका निर्णयलाई सम्पूर्ण परिस्थितिबाट अलग गरेर मूल्याङ्कन गर्न नमिल्ने उनको भनाइ थियो।