काठमाडौँ।
नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ ।
अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन् । यो व्यवस्था सोमबार ( साउन ११ गते) देखि लागु भएको छ ।
यो व्यवस्थाले मोरक्को जान चाहने नेपाली नागरिकहरू भिसाकै लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि नेपाली नागरिकहरूले मोरक्कोको भिसाका लागि काठमाडौँस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफारिस पत्रलिई नयाँ दिल्लीस्थित मोरक्कोको दूतावास पुग्नुपर्ने बाध्यता थियो । यो प्रक्रियाका कारण नेपाली यात्रीहरूको समय र ठुलो रकम भारत आउने–जाने कार्यमा खर्च हुँदै आएको थियो ।
अब भने मोरक्कोको सम्पूर्ण भिसा प्रक्रिया नेपालबाटै सम्पन्न हुने गरी नयाँ व्यवस्था लागू गरिएको हो ।
भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबलसँगको सहकार्य गरी मोरोक्को भिसा प्रक्रियालाई सहज बनाइएको कन्सुलर कार्यालयले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार अब आवेदकहरूले नेपालमै रहेर सहज रूपमा भीएफएसमार्फत भिसाको प्रक्रिया पूरा गर्न सक्नेछन् ।
मोरक्कोका लागि नेपालका तर्फबाट अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले नेपाली नागरिकहरूको सहजताका लागि भीएफएससँग सहकार्य गरेको बताउनुभयो ।
‘मोरक्को जान चाहने नेपालीहरूले यसअघि यहाँबाट सिफारिस लिएर भिसाका लागि नयाँ दिल्ली नै जानुपर्ने बाध्यता थियो, जसले गर्दा उहाँहरूको समय र अनावश्यक आर्थिक भार निकै बढिरहेको थियो।,’ अवैतनिक महावाणिज्यदूत चौधरीले भन्नुभयो, ‘नेपाली नागरिकहरूको सहजताका लागि हामीले नेपालबाटै सेवा लिने व्यवस्था मिलाएका छौं । भिसा प्रक्रियाकै लागि नेपालीहरूको भारत आउने–जाने ठुलो खर्च जोगिनुका साथै समयको बचत पनि गराउनेछ ।’
उहाँका अनुसार यो नयाँ कदमले नेपाल र मोरक्कोबीचको जनस्तरको सम्बन्ध लाई थप प्रगाढ बनाउनुका साथै दुई देशबीचको पर्यटन तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन थप मद्दत पुग्ने छ ।











प्रतिक्रिया