कर्णालीका पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही


सुर्खेत ।

कर्णाली प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रूपमा मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका शाहीलाई शपथ खुवाएका हुन् ।

मंगलबार एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।
शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ । २०८० चैतमा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।

सुरुमा नेकपा र त्यसपछि कांग्रेससँगको गठवन्धनबाट कँडेल दुई वर्ष यता सरकारको नेतृत्वमा थिए । गएको ३१ असारमा कँडेल नेतृत्वको क्याबिनेटबाट कांग्रेसमा चार मन्त्रीले राजीनामा दिएपछि कर्णालीमा सत्ता समीकरणको कोर्स सुरु भएको थियो ।

आलोपालाको पूर्ववतः सहमति कार्यान्वयन नभएको भन्दै गठवन्धनबाट कांग्रेस बाहिरिएपछि कँडेलले राजीनामा दिएका थिए ।
मन्त्रीहरूको राजीनामा आएको भोलिपल्ट कांग्रेससँग मिलेर नेकपाले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर, अन्तिममा सरकारको नेतृत्व पाउने भएपछि मुख्यमन्त्री कँडेलका विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावबाट नेकपा पछि हटेको थियो । मुगु जिल्लाबाट निर्वाचित शाही यसअघि प्रदेशको भौतिक पूर्वाधार मन्त्री भइसकेका व्यक्ति हुन् ।