लन्डन, (एजेन्सी) ।
केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अन्तिम ३२ चरणमा गरेको गोललाई फिफा विश्वकप २०२६ को गोल अफ द टुर्नामेन्ट घोषित गरिएको छ ।
फिफाले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार काब्रालले गरेको गोल समर्थकहरूको मतका आधारमा प्रतियोगिताकै उत्कृष्ट बनेको हो । मायामी स्टेडियममा भएको उक्त खेलको अतिरिक्त समयमा काब्रालले अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरलाई छलाउँदै एमिलियानो मार्टिनेजको गोलपोस्टको माथिल्लो कुनामा उत्कृष्ट कर्ल प्रहार गरेका थिए । त्यस गोलले खेल २–२ को बराबरीमा पु¥याएको थियो । यद्यपि केप भर्डे अन्ततः ३–२ ले पराजित भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलको दौडमा काब्रालले उज्बेकिस्तानका एल्डोर शोमुरोदोभ र हाइटीका विल्सन इसिडोरलाई पछि पारेका थिए । यसअघि मेक्सी रोड्रिगेज, डिएगो फोर्लान, जेम्स रोड्रिगेज, बेन्जामिन पाभार्ड र रिचार्लिसनले गोल अफ दि टुर्नामेन्ट जितेका थिए ।
पुरस्कारपछि प्रतिक्रिया दिँदै २३ वर्षीय काब्रालले गोल गर्ने क्षण अझै अविस्मरणीय रहेको बताए । ’विपक्षी खेलाडीलाई छलाएपछि मैले गोल गर्ने अवसर देखे ं। माथिल्लो कुनालाई लक्ष्य बनाएर प्रहार गरेको थिएँ । बल त्यहीँ जाँदै गरेको देखेपछि आफैंलाई विश्वास लागिरहेको थिएन,’ उनले भने ।
गोल गरेपछि उनी सिधै दर्शकदीर्घातर्फ आमालाई भेट्न दौडेका थिए । तर अत्यधिक खुसीका कारण उनकी आमा टेरेसा बेहोस भएको उनले खुलासा गरे । ’मैले खेलअघि गोल गरेँ भने आमालाई भेट्न आउने वाचा गरेको थिएँ । तर त्यहाँ पुग्दा उहाँ बेहोस हुनुभएको रहेछ । सबैजना उहाँलाई सम्हाल्न व्यस्त थिए,’ काब्रालले भने ।
ब्राजिलका पूर्व स्टार मार्सेलोले पनि काब्रालको गोललाई प्रतियोगिताकै उत्कृष्ट गोलका रूपमा मतदान गरेको सन्देश पठाएको खुलासा गरेपछि उनले त्यसलाई आफ्नो करिअरकै ठूलो सम्मानमध्ये एक भएको बताए । ३ वर्षअघि मात्र जर्मनीको पाँचौं डिभिजनमा खेलिरहेका काब्राल अहिले विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत पुरस्कार जित्ने खेलाडीको सूचीमा पुगेका छन् ।











प्रतिक्रिया