काठमाडौँ।
जापानको दक्षिणी क्षेत्रमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने कुमामोटोस्थित एक शपिङ मलमा केही मानिस फसेको र धेरै जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कुमामोटोको एयोन शपिङ मलमा भूकम्पपछि विस्फोट भएको खबर सार्वजनिक भएको छ। यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिको आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाइएको छ।
जापानको क्युशु टापुको भित्री क्षेत्रमा स्थानीय समयअनुसार दिउँसो ४:२७ बजे भूकम्प गएको हो। भूकम्पपछि केही समयका लागि सुनामीको चेतावनी जारी गरिए पनि करिब एक घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो।
सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य तीव्र बनाइएको छ।
भूकम्पीय जोखिमका हिसाबले जापान विश्वकै संवेदनशील देशमध्ये एक मानिन्छ। त्यहाँ हरेक वर्ष औसतमा करिब १,५०० वटा भूकम्प रेकर्ड हुने गरेका छन्।











प्रतिक्रिया