पवित्र जल छर्किन पादरीले चलाए प्रेसर वासर


मेक्सिकोको मिचोआकान राज्यस्थित कोन्टेपेक नगरमा एक क्याथोलिक पादरीले पवित्र जल छर्कन प्रेसर वासर (हाइड्रोवासर) प्रयोग गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सेन्ट जेम्स द एपोस्टलको सम्मानमा आयोजित धार्मिक समारोहका क्रममा पादरी रुबेन पेरेज रुबियो सेतो पिकअप गाडीको पछाडि उभिएर प्रेसर वासरमार्फत उपस्थित श्रद्धालुमाथि पवित्र जल छर्किरहेको भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा तीव्र रूपमा फैलिएको हो।

पादरीले एकैपटक ठूलो संख्यामा सहभागीलाई आशीर्वाद दिन यस्तो उपाय अपनाएको बताइएको छ। कार्यक्रममा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू सहभागी थिए।

यो भिडियो भाइरल भएपछि केहीले पवित्र जल पुर्‍याउने व्यावहारिक उपाय भन्दै प्रशंसा गरेका छन् भने केहीले धार्मिक परम्पराको गरिमासँग मेल नखाने भन्दै आलोचना गरेका छन्।

स्रोत: इन्फोबे, एल इम्पार्सियल