हिमालय एअरलाइन्समा उमेरमैत्री हवाई यात्राबारे अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग छलफल


काठमाडौँ।

हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग उमेरमैत्री हवाई यात्रासम्बन्धी विषयमा छलफल गरेको छ।

एअरलाइन्स्ले २४ जुलाई २०२६ मा आफ्नो प्रधान कार्यालयमा संयुक्त राष्ट्रसंघीय ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सीसहितको विशिष्ट प्रतिनिधिमण्डललाई स्वागत गर्दै ज्येष्ठ यात्रुका लागि हवाई सेवालाई थप सहज, पहुँचयोग्य र समावेशी बनाउने विषयमा अन्तरक्रिया गरेको जनाएको छ।

छलफलका क्रममा ज्येष्ठ यात्रुहरूले हवाई यात्रा गर्दा भोग्न सक्ने कठिनाइ, उनीहरूका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने उपाय तथा यात्रालाई थप सहज बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो। हिमालय एअरलाइन्स्ले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका सेवा तथा आगामी योजनाबारे प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो।

सो अवसरमा संयुक्त राष्ट्रसंघकी प्रतिनिधि डा. चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासबारे चर्चा गर्दै उमेरमैत्री तथा समावेशी सेवाका लागि निरन्तर सहकार्य र ज्ञान आदान–प्रदान आवश्यक रहेको बताउनुभयो।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठले उमेरका आधारमा कुनै पनि यात्रुलाई विभेद नगरी सबैलाई सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकका आवश्यकताअनुसार हवाई क्षेत्रलाई थप समावेशी र पहुँचयोग्य बनाउन अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग भएको संवाद महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

हिमालय एअरलाइन्स्ले उक्त अन्तरक्रियाले मानव अधिकारमा आधारित, उमेरमैत्री र यात्रुकेन्द्रित हवाई सेवाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि ज्ञान आदान–प्रदान र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।