काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आगामी आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी र अफिसियलहरूका लागि मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा एकदिने सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
खेलकुद क्षेत्रमा सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी सबैको सुरक्षा र मर्यादाको महत्त्वमाथि जोड दिनुभयो । दुई सत्रमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, धनुर्विद्या, कबड्डी र टेबल टेनिसका प्रतिनिधिहरू सहभागी थिए भने दोस्रो सत्रमा जुडो, तेक्वान्दो, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ तथा सदस्यद्वय प्रतिभा जोशी र डा. प्रमिला थापाले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीडन तथा दुव्र्यवहार रोकथाम र खेलाडीको अधिकार एवं कल्याणका विषयमा प्रस्तुति दिनुभएको थियो ।
साथै, उहाँहरूले सुरक्षित खेल वातावरण निर्माणका लागि खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूको सामूहिक जिम्मेवारीबारे समेत छलफल गर्नुभयो ।एसियाली खेलकुदमा प्रस्थान गर्नुअघि नेपाली टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूबारे स्पष्ट जानकारी गराउने लक्ष्य राखेको एनओसीले बाँकी खेलका सहभागीहरूका लागि पनि छिट्टै यस्तै सत्रहरू सञ्चालन गर्ने जनाएको छ । यसै कार्यक्रमका बीच एनओसीका सह-महासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी आइची–नागोया एसियाली खेलकुदका लागि नेपालको आधिकारिक सुरक्षा अधिकारी (सेफगार्डिङ अफिसर) नियुक्त गरिएको जानकारी पनि गराइएको थियो ।











प्रतिक्रिया