सुनसरी घटनाबारे रास्वपा : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

पार्टीका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कुनै पनि विवादको समाधान हिंसाबाट सम्भव नहुने उल्लेख गरिएको छ। सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ।

रास्वपाले घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

पार्टीले संवेदनशील अवस्थालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवालासँग आग्रह गर्दै आफ्ना स्थानीय समितिलाई पनि शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको जनाएको छ।