नशा र यौन सम्बन्धलाई स्वतन्त्रता ठान्नेहरू गटर जेनेरेशन : कंगना रनवत


काठमाडौं ।

भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनवतले नयाँ पुस्ताका केही भारतीय महिलामाथि विवादास्पद टिप्पणी गरेकी छन्। उनले पश्चिमी सोचको नक्कल गर्दै लागुऔषध सेवन, मदिरा पिउने र धेरै पुरुषसँग यौन सम्बन्ध राख्नुलाई स्वतन्त्रता ठान्ने महिलाहरूलाई “गटर जेनेरेशन” भनेकी छन्।

इन्स्टाग्राम स्टोरीमार्फत कंगनाले लेखेकी छन्, “स्वतन्त्र महिलाहरूले आफ्नो निर्णयको जिम्मेवारी आफैं लिन्छन्। उनीहरू विद्रोही निर्णय गर्छन्, परम्पराभन्दा फरक करियर रोज्छन् र त्यसको मूल्य पनि आफैं चुकाउँछन्। तर अहिले केही युवतीहरू स्वतन्त्रताको नाममा जिम्मेवारीबिनाको जीवनशैली अपनाइरहेका छन्।”

उनले थप लेखेकी छन्, “यस्ता महिलाहरूसँग समाजलाई दिने कुनै योगदान छैन। उनीहरू न अध्ययनमा राम्रो छन्, न जिम्मेवार गृहिणी बन्न सक्ने सोच राख्छन्। बरु लागुऔषध, मदिरा र अनगिन्ती यौन सम्बन्धलाई नै स्वतन्त्रता ठान्छन्। अभिभावकको कमाइमा आश्रित भएर पनि स्वतन्त्र भएको दाबी गर्नु गलत हो।”

यसअघि कंगनाले विद्यार्थी आन्दोलनबारे पनि कडा टिप्पणी गरेकी थिइन्। उनले सामाजिक सञ्जालमा लेख्दै वर्तमान पुस्ताको विरोध प्रदर्शन हेर्दा “घृणा लाग्ने” प्रतिक्रिया दिएकी थिइन्। साथै, यस्ता प्रदर्शनकारीहरूको भाषा र व्यवहारमाथि प्रश्न उठाउँदै उनीहरूको पालनपोषणबारे समेत टिप्पणी गरेकी थिइन्।

कंगनाले आन्दोलनमार्फत सरकारमाथि दबाब सिर्जना गर्नु उचित नभएको बताउँदै सार्वजनिक मुद्दामाथिको बहस संसदमै हुनुपर्ने धारणा व्यक्त गरेकी छन्। दिल्लीको जन्तर–मन्तरमा विद्यार्थीको मागको समर्थनमा भएको प्रदर्शनको पनि उनले खुलेर विरोध गरेकी थिइन्।

स्रोत: दैनिक भास्कर