मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया

२१ वर्षअघि घाँटीमा देखिएको डल्लो जब दुर्लभ ट्युमर भन्ने थाहा भयो


काठमाडौँ ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो । शल्यक्रियामा डा. भण्डारीसँगै डा. पुरुषोत्तम बानियाँ र डा. समीर अर्याल संलग्न हुनुहुन्थ्यो ।

यस्तै एनेस्थेसियामा डा. सुरेश लामिछाने लगायतको चिकित्सकीय टोली सहभागी हुनुहुन्थ्यो । चिकित्सकहरूले असार २५ गते ७ घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकाल्नुभएको हो । ‘बिरामीको बायाँ घाँटीमा वर्षौँदेखिको ट्युमर बढ्दै–बढ्दै गएको अवस्था थियो,’ डा. भण्डारीले भन्नुभयो, ‘उहाँको ट्युमर निकालेर सफल उपचार गरेका छौँ ।

’ उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या, अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए । बिरामीका आफन्तले बताए अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन ।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको थियो । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।

नर्भिकमा उपलब्ध उच्चस्तरीय अप्रेसन थियटर, आईसीयू लगायत उपचार प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीको विज्ञताका कारण ती महिलाको उपचार सम्भव भएको अस्पतालले जनाएको छ । बिरामीको सर्जरीका लागि रक्तस्राव कम गर्न भर्टिब्रल आर्टरीलाई मेरुदण्डभित्रबाट बाहिर निकाली ट्रान्सपोजिसन गर्ने योजना बनाइएको थियो र शल्यक्रियाका दौरान त्यसै गरिएको डा. भण्डारीले जानकारी दिनुभएको छ ।

‘मूल धमनीलाई नै बन्द गर्नुपर्ने स्थिति आएको खण्डमा, मस्तिष्कको रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपासको तयारी गरिएको थियो । तर बाइपास गर्नुपर्ने अवस्था आएन,’ डा. भण्डारीले भन्नुभयो । शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा क्रिटिकल केयर टिमले आईसीयूमा राखेर निगरानी गरेको थियो । बिरामीको अवस्था सामान्य भएपछि शल्यक्रिया गरेको दुई दिनपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि बिरामी नियमित फलोअप जाँचका लागि साउन ५ गते अस्पताल आइपुग्नुभएको थियो । वर्षौँदेखि घाँटीमा रहेको ट्युमर हटाएपछि बिरामी खुसी हुनुहुन्छ ।

उहाँले खुसी हुँदै भन्नुभयो, ‘अस्पताल र चिकित्सकलाई धेरै धन्यवाद ।’ के थियो समस्या ? बिरामीका छोरा बुहारीका अनुसार बिरामीको समस्या सुरु भएको थियो २१ वर्ष अगाडि । घाँटीको बायाँ भागमा बाहिरपट्टि एउटा डल्लो देखियो । उक्त डल्लो बिस्तारै बढ्दै गयो । गलगाँड हो कि भन्ने सोचे तर त्यतिबेला आफैँ ठिक होला भन्ने सोचेर उपचार गराएनन् । बिरामीको २०७२ साल अगाडि नै पत्थरीको समस्याको आकस्मिक रूपमा अप्रेसन भयो ।

उक्त अप्रेसनको क्रममा पनि घाँटीमा आएको डल्लो के हो भन्ने कुरा फेरि निस्कियो । तर त्यसको जाँच वा उपचारमा कसैले ध्यान दिएनन् । तर जब टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो, हरेक समस्याको कारण त्यही घाँटीमा आएको मासुको डल्लो हो कि भन्ने शंका भएपछि २०७२ साल असोज–कात्तिकतिर उनकी बुहारीले बिरामीलाई अप्रेसन गराउन अस्पताल लगिन् । काठमाडौँको एक अस्पताल (नाम नखुलाइएको)मा स्वास्थ्य जाँच गराइन् । जाँचको क्रममा चिकित्सकहरूले मुटुबाट टाउकोमा गएको नसामा मासु पलाएको र त्यसको अप्रेसन गर्नुपर्ने बताए ।

त्यहाँबाट उनीहरूलाई काठमाडौँको वीर अस्पतालमा रेफर गरिदिए । उक्त मासुको डल्लो अप्रेसन गरेर निकाल्ने तयारी भयो । उनीहरूले अप्रेसनका लागि आवश्यक पर्ने औषधिहरू किनिसकेका थिए । चिकित्सकहरूले अप्रेसन गर्नुअघि बिरामी पक्षलाई सर्जरीका क्रममा हुने जोखिमबारे प्रस्ट्याए । सर्जरीका क्रममा प्यारालाइसिस हुनेदेखि मृत्युको जोखिमसम्म हुनसक्छ भनेपछि उनीहरू डराए । त्यतिबेला बिरामीलाई सुगर पनि देखियो । किनिसकेको औषधि पनि फिर्ता गरेर अप्रेसन नै नगरी उनीहरू घर फर्किए । बिरामीले सुगरको औषधि भने चिकित्सकको सल्लाह अनुसार नियमित खाइन् । अप्रेसन नगरेपछि घर, परिवार, छिमेक र समाजमा घाँटीमै पलाएको मासुको डल्लोको मात्रै चर्चा हुने भएपछि बिरामी र उनका परिवार दिक्क भइसकेका थिए ।

नियमित सुगर जाँच गर्ने क्रममा २०७५ सालतिर नियमित जँचाइरहेको अस्पतालमा (नाम नखुलाइएको) पुनः सर्जरीको तयारी भयो तर त्यहाँ मेसिन बिग्रिएको कारण त्यतिबेला पनि सर्जरी स¥यो । अप्रेसन टरेपछि बिरामीले केही वर्षअघि झण्डै ७ महिना नियमित थेरापी समेत गराएकी थिइन् । तर थेरापीले पनि घाँटीमा पलाएको मासु सुकेन । दुईपटक अप्रेसन रोकियो । घाँटीमा भएको मासुको डल्लोको आकार बढ्दै÷बढ्दै गयो । त्यसले गर्दा बिरामी र उनका परिवारमा तनावको अवस्था भइरह्यो ।

बिस्तारै स्वास्थ्यमा जटिलताहरू देखिन थाले । बेलाबेलामा अत्यधिक टाउको दुख्ने, चिटचिट पसिना आउने, अचेत भएजस्तो हुने र शरीरको कुनै भाग नचलेजस्तो झम्झमाउने, घाँटी बाँधिएजस्तो हुने लक्षणहरू देखिए । नियमित सुगर जाँच गरिरहेका चिकित्सकले पनि बिरामीको अवस्था देखेर घाँटीमा पलाएको मासुको डल्लो अप्रेसन गरेर हटाउन सुझाव दिए । बेलाबेलामा नाक, कान तथा घाँटी विभागमा जाँदै जँचाउँदै गरेका थिए । उनीहरूले चिकित्सकहरूबाटै धेरैपछि थाहा पाए– उक्त केस न्युरोसँग सम्बन्धित छ ।

उक्त अस्पतालमै बिरामीमा कन्ट्रास्ट सिटीस्क्यान गरेर ट्युमरको जाँच गरियो । सो क्रममा धमनीबाट निस्किएको ट्युमर जस्तो देखिएपछि डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राम (डीएसए) पनि गरिएको थियो । डीएसएमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्यधिक भास्कुलर ट्युमर भएको पुष्टि भएको थियो । त्यसपछि उनीहरू थप उपचारका लागि नर्भिक अस्पताल आइपुगे । नर्भिकमा डा. भण्डारीसँगको परामर्शपछि उनीहरूले सर्जरी गरेर ट्युमर हटाउने निर्णय गरे ।

डा. भण्डारीले जटिल केस भए पनि उपचार सम्भव भएको बताएपछि उनीहरू खुसी भएका थिए । ‘डाक्टरसाबले उपचार सम्भव छ भन्दा पनि हामी त डराएका थियौँ, किनकी १० वर्षअगाडि नै जे पनि हुनसक्छ भनिएको केस थियो,’ बिरामीकी बुहारीले भनिन्, ‘अप्रेसन सफल भएको दुई घण्टामै आमाको होस पनि आयो, बोलाउँदा पनि बोल्नुभयो त्यसपछि त हामी धेरै खुसी भयौँ । उहाँ (डा. पावनबहादुर भण्डारी) त हामी र हाम्रो आमाको लागि भगवान्जस्तै हुनुभयो ।’ बिरामीलाई अहिले उपचारपछि डिस्चार्ज गरिसकिएको छ ।

शल्यक्रिया सफल भएपछि बिरामीको परिवार खुसी भएको छ । ‘२१ वर्षअघिदेखिको आमाको दुख, पीडा र समस्या (ट्युमर) फाल्यौँ, आमा बलियो पनि हुनुहुँदो रहेछ,’ बिरामीका छोराले भने, ‘हामीले झण्डै आशा नै मारिसकेका थियौँ । यो अप्रेसनपछि आमाले नयाँ जुनी पाउनुभएको छ । हामी धेरै खुसी छौँ । डाक्टरसाबलाई धेरै÷धेरै धन्यवाद ।’ बिरामी नियमित फलोअपका लागि नर्भिकमै आइरहनुभएको छ । (बिरामीको गोपनीयतालाई ध्यान दिँदै नाम नखुलाइएको हो ।)