बाजुरा ।
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोले दुई घरमा क्षति पुर्याउँदा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सथानीय मान वहादुर थापका अनुसार पहिराेमा परि बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका नाै ताम्सुकि अन्दाजी २० वर्षिया युवती प्रतीक्षा थापा हुन्। साेही वडाका धर्म बहादुर थापा र धाैली रावल सामान्य घाईते भएका छन् । घर तलकाे ग्याबिन प्रखाल भत्किदा क्षेती जनधनकाे क्षेती भएकाे हाे।
निरन्तर वर्षाका कारण ताम्सुलगायत विभिन्न ठाउँमा पहिराे गएकाे छ थापाले भने । साउन २८ गते बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण ताम्सु खोलामा पानीको बहाव बढेसँगै पहिरो गएको हो। पहिरोमा स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन २९ गते राति करिब १२ः१० बजे स्थानीय टेकबहादुर थापाले पहिरोका कारण मानिस घाइते तथा घरमा क्षति भएको जानकारी प्रहरीलाई गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। तर ताम्सु खोलामा पानीको बहाव अत्यधिक बढेकाले प्रारम्भिक प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ। त्यसपछि स्थानीयवासीसँग टेलिफोनमार्फत घटनाको अवस्थाबारे जानकारी लिँदा धर्म थापा र कर्णबहादुर थापाको घर पहिरोमा परेको तथा घरपरिवारका दुई जना सामान्य घाइते भएको जानकारी प्राप्त भएको थियो।
एक जना भने बेपत्ता रहेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ। उद्धारका लागि राति करिब ४ बजे प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी बेस क्याम्प बाजुराबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। त्यसैगरी बिहान करिब ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ। ताम्सु घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्दछ।
लगातारको वर्षाका कारण खोलानाला तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। घटनामा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भइरहेका छन्। घटनाको थप विवरण तथा क्षतिको पूर्ण विवरण उद्धार कार्यपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।











प्रतिक्रिया