कास्की ।
अविरल वर्षापछि मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ हाईजुङस्थित मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी आएपछि पुजारीसहित तीन जना फसेका थिए। उनीहरू जोखिममा रहेको सूचना शुक्रबार राति १ः२७ बजे प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की, प्रहरी चौकी नयाँपुल तथा सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट खटिएको संयुक्त टोलीले बिहान ८ः१५ बजे तीनै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत २३ वर्षीय रेवन्त प्रसाद सिंह र मन्दिरका ४८ वर्षीय पुजारी निर्माण गिरी रहेका छन्।
भारतको हिमाचल प्रदेश घर भएका गिरी विगत आठ वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। बाढीको तीव्र बहावका कारण मन्दिरको केही भागमा क्षति पुगेको छ भने मन्दिर आसपासको बेली ब्रिजसमेत बगाएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि जोखिम थप बढेको थियो। समयमै उद्धार टोली परिचालन भएपछि मन्दिरमा फसेका तीनै जनालाई सकुशल बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया