काठमाडौं ।
जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदको विशेष तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा प्रस्थान गर्दैछ ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिनासम्म विशेष प्रशिक्षण लिने यो टोलीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली चयन भएका छन् । छनोट भएका खेलाडीमध्ये घनश्याम हरियाणामा र अंकु, रविसहित करुण हिमाचल प्रदेशमा पहिलेदेखि नै प्रशिक्षणरत रहेकाले उनीहरू उतैबाट मुख्य टोलीसँग जोडिनेछन् । टोलीको मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली तोकिएका छन् ।
हरियाणाको प्रशिक्षणपछि चाइनिज ताइपेइको सहभागितामा भर पर्दै टोली थाइल्यान्ड जाने वा भारतकै जयपुर र उत्तर प्रदेशमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेर तयारीलाई निरन्तरता दिने टुङ्गो लाग्नेछ । प्रशिक्षणको सम्पूर्ण चरण पूरा गरेर टोली सीधै आगामी असोज ३ देखि १८ गतेसम्म जापानमा हुने एसियाली खेलकुदमा सहभागी हुन प्रस्थान गर्नेछ । पुरुष कबड्डी टोलीको यो पाँचौं एसियाली खेलकुद यात्रा हुनेछ भने यसअघि १९९० को चीन, १९९४ को जापान, १९९८ को थाइल्यान्ड र २०१८ को इन्डोनेसियाली संस्करणमा सहभागिता जनाइसकेको छ ।
यसपटक पुरुषसँगै गत संस्करणमा ऐतिहासिक कांस्य पदक जितेर इतिहास रचेको नेपाली महिला कबड्डी टोलीले पनि दोस्रो पटक एसियाली खेलकुदमा आफ्नो उपस्थिति जनाउने निश्चित भएको छ । यसैबीच, बुधबार आयोजित एक विशेष बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै उत्कृष्ट तयारीका साथ देशको नाम उच्च राख्न प्रेरित गरेका छन्।











प्रतिक्रिया