ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति


काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरको भनाइ छ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ।

चेम्बरका अनुसार होटलमा करिब २०० वटा ग्यास सिलिन्डर मौज्दात रहनु पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक होइन। व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने चेम्बरले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर कानुनी रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्ष जिम्मेवार र संवेदनशील हुनुपर्ने चेम्बरको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योग–व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ।

व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने चेम्बरले जनाएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति तथा सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने चेम्बरको धारणा छ।