‘म हिन्दू हुँ, अरु धर्मको विरोधी होइन’ : देउवा


काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू कुनै पनि धर्मको विरोधी नरहेको स्पष्ट पारेका छन्।

कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा आइतबार दोस्रोपटक सम्बोधन गर्दै देउवाले आफू हिन्दू भए पनि अन्य धर्मप्रति आफ्नो कुनै विरोध नरहेको बताएका हुन्।

यसअघि करिब १० मिनेटअघि सम्बोधनका क्रममा आफू हिन्दू रहेको र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको धारणा राखेका देउवाले पुनः सम्बोधन गर्दै त्यस विषयमा थप प्रस्ट्याएका थिए।

‘केही विवाद उठेकाले भन्न चाहन्छु– मैले अघि पनि भनिसकेँ, म हिन्दू हुँ, अरू धर्मको विरोधी होइन । इस्लाम, ईसाई धर्मको पनि विरोधी होइन,’ देउवाले भने।

उनले प्रत्येक व्यक्तिले आफ्नो इच्छाअनुसार धर्म मान्न पाउने अधिकार हुनुपर्ने धारणा राखे। आफूलाई हिन्दू भन्न पाउने अधिकारको पक्षमा मात्र आफूले कुरा गरेको उनको भनाइ थियो।

‘सबैले आफ्नो धर्म मान्न पाउनुपर्छ। मैले आफूलाई हिन्दू भन्न पाउनु पर्‍यो नि, त्यही भन्न खोजेको हो,’ देउवाले स्पष्ट पारे।