वर्तमान सरकार ‘भवितव्य’ बाट बनेको सरकार : ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘भवितव्य’ बाट बनेको सरकार भएको टिप्पणी गर्नुभएको छ ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार गठनको प्रक्रिया र कार्यशैलीप्रति प्रश्न उठाउनुभयो । उहाँले असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाउँदै आफू, नेपाली कांग्रेसका नेता रमेश लेखक लगायतलाई पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भइरहेको बताउनुभयो ।

सरकारका गतिविधिबाट विचलित नहुन आग्रह गर्दै ओलीले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।