सरकारको पपुलिस्ट गफले भूराजनीतिक जोखिम बढ्यो : महासचिव पोखरेल

0
Shares

धनगढी।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको लाचारी र नयाँ शक्तिहरूको पपुलिस्ट (लोकप्रियतावादी) गफका कारण मुलुकमा भूराजनीतिक जोखिम, साम्प्रदायिक तनाव र चरम निराशा बढेको बताउनुभएको छ।

​हिजोका दिनमा सडकका खाल्डाखुल्डी पुर्ने, ढिलासुस्ती अन्त्य गर्ने, समयमै मलखाद उपलब्ध गराउने र युवा पलायन रोक्नेजस्ता आधारभूत विषय उठाएर नयाँ नेतृत्वको हुटहुटी र ठूला सपना बाँडिएको पोखरेलले स्मरण गराउनुभयो। तर, सत्ता र जिम्मेवारीमा पुगेपछि ती समस्या हल हुनुको सट्टा वर्तमान सरकारको फितलो कार्यशैली र नयाँ दलहरूको प्रचारमुखी व्यवहारका कारण अवस्था झनै बिग्रेको उहाँको टिप्पणी छ।

​महासचिव पोखरेलले आजको यथार्थ निकै गम्भीर रहेको उल्लेख गर्दै साम्प्रदायिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको, भूराजनीतिक असन्तुलन चुलिएको र नागरिकमा मानसिक तनाव एवं चरम निराशा बढेको बताउनुभयो। हिजो समस्या देखाएर नेतृत्व बदल्ने होड चले पनि आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता पनि नदेखिएको भन्दै उहाँले अब अरूलाई दोष थोपरेर पन्छिने छुट सरकार र नयाँ शक्ति कसैलाई नभएको स्पष्ट पार्नुभयो।

​मुलुकलाई विद्यमान संकटबाट जोगाउन र दिगो समाधान खोज्न महासचिव पोखरेलले चार(बुँदे निकासको खाका समेत अघि सार्नुभएको छ। उहाँले लोकप्रिय देखिने आश्वासन र सस्तो गफभन्दा बाहिर निस्किएर देशको आर्थिक आधार बलियो बनाउन इमानदार पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो। यसका साथै नागरिकले प्रत्यक्ष भोग्नुपरेका दैनिक समस्याहरूको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजनाहरूलाई समान्तर रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ।

​त्यस्तै, संकटको समयमा एक्लै हिँड्ने हठ त्यागेर दलहरूबीच न्यूनतम राष्ट्रिय सहमति र सहकार्यको राजनीतिमा फर्कन आग्रह गर्दै पोखरेलले प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिई संविधान तथा कानुनको पालना मार्फत सुशासन कायम गरिनुपर्ने स्पष्ट पार्नुभयो। केवल सरकार र नेतृत्व परिवर्तनले मात्रै समस्याको समाधान नहुने भन्दै उहाँले यी निकासका उपायहरूलाई गम्भीरताका साथ व्यवहारमा नउतारे सडकबाटै सरकार बदल्नुपर्ने बाध्यकारी नियति दोहोरिन सक्ने चेतावनी समेत दिनुभएको छ।