काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ आगामी भदौ १८ गते हुने भएको छ ।
मञ्चले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा हुने औपचारिक घोषणा गरेको हो । यसै कार्यक्रमका अवसरमा मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँगको सम्झौतासमेत नविकरण गरेको छ । गोल्छा ग्रुप लगातार १९औं पटक यस अवार्डसँग जोडिएको हो । अघिल्लो वर्ष नै पाँच वर्षका लागि भएको सम्झौताअनुसार यो दोस्रो वर्षको सहकार्य हो । सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपश्चात निर्देशक गोल्छाले लगातार १९ वर्षसम्म नेपाली खेलकुद र मञ्चसँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धिमा आफूहरू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँगको लामो सहकार्यले अवार्डलाई व्यवस्थित र निरन्तरता दिन ठूलो सहयोग पुगेको बताए । मञ्चका महासचिव अञ्जन खड्काले यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा कुल ९ वटा विधामा पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।
जसअनुसार वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । खेलाडी छनोट समितिको टोलीले तयारी तीव्र पारिसकेको हुँदा वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन सूची केही दिनमै सार्वजनिक गरिनेछ । जसमा प्रत्येक विधामा पाँच–पाँच जना खेलाडी समेटिने प्रावधान रहेको छ । यस्तै, पिपल्स च्वाइस विधाको विजेता भोटिङमार्फत छनोट हुने भएकाले यसको मनोनयन पनि छिट्टै बाहिर ल्याइनेछ भने लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने कार्यक्रमकै दिन हुनेछ ।
पुरस्कार राशी तथा वितरणतर्फ वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई मुख्य आकर्षणका रूपमा पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तित्वहरूलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई भव्य र सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति तथा अन्य विभिन्न उपसमितिहरू समेत गठन गरिसकिएको छ ।
स्मरण रहोस्, गत वर्षको संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पुजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड चुम्न सफल भएका थिए भने सर्वाधिक मतका आधारमा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । त्यसैगरी, गत वर्ष स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।











प्रतिक्रिया