पुस्तक–चर्चा : इन्जिनियर वस्तीको चटनीजस्तो ‘सूक्ति–सङ्ग्रह’

0
Shares

सूक्ति भनेको कुनै सिद्धान्त, अनुभव वा सत्यलाई व्यक्त गर्न उल्लेख गरिने छोटो, सारगर्भित एवं जीवनोपयोगी मौलिक भनाइ हो । अपटेक हाउस, काठमाडौँले यस्तै जीवनोपयोगी र सारगर्भित भनाइहरुको सँगालो ‘सूक्ति–सङ्ग्रह’ नामक कृति प्रकाशन गरेको छ ।
लाङ्दी सिरान्चोक–८, गोरखामा जन्मिनुभएका वरिष्ठ इन्जिनियर एवं पेसाले सरकारी सेवामा सहसचिवका रुपमा कार्यरत गणेशराज वस्तीद्वारा रचित÷सङ्कलित यस कृतिमा सूक्तिहरुको विशाल राशि छ । यसमा झन्डै साढे ७ सय सूक्तिहरु अटाएका छन् ।

कुशल प्रशासक तथा बहुआयामिक लेखकका साथै अनुरागी साहित्यिक स्रष्टा वस्तीले फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम आदिमा आफ्ना विचारहरु सार्वजनिक गर्दागर्दै तिनै विचार सङ्कलन गरेर सूक्ति–सङ्ग्रह बनेको उहाँकै भनाइबाट ज्ञात हुन्छ ।

लेखक वस्तीले आफ्नो भनाइमा लेख्नुभएको छ, ‘मन–मस्तिष्कमा कुनै क्षण फुर्ने विचार, दृष्टिकोण, भाव आदिलाई म कुनै कापीमा लेख्नेभन्दा पनि फेसबुकमा नै लेखेर सार्वजनिक गर्थें, कैयौँ फेसबुक साथीहरुले यसलाई लाइक गर्ने, यसउपर सकारात्मक टीका–टिप्पणी गर्ने गर्थे । केहीले त सँगालो तयार ग¥यो भने चाणक्य नीति नै बन्ला है, पनि भने ।’
साथीभाइका यिनै टीका–टिप्पणीको प्रभावस्वरुप लेखक वस्तीले यो सङ्ग्रह तयार गर्नुभएको अनुमान गर्न गाह्रो छैन । आफ्ना विचार, दृष्टिकोण र अनुभवलाई यसरी राख्दा यसबाट जीवन र जगत्लाई फाइदा नै पुग्नेछ भन्ने लागेर यहाँ प्रस्तुत गरेको उहाँले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

सूक्तिहरु सबैका लागि ग्रहण गर्नयोग्य हुन्छन् । पढ्दा वा बोल्दा छरितो, स्मरणीय, ट्वाक्क परेको चटनी खाएजस्तो सबैका लागि हितकारी हुने भएर नै सूक्तिको महत्व बढेको पाइन्छ । नुन, खुर्सानी, अमिलो लागेको तिख्खर अचारजस्तै ट्वाक्क लाग्ने सूक्ति हालेर गरिने वार्तालापले सबैको मन तान्छ, जसरी हाम्रा पूर्वप्रधानमन्त्री केपी ओलीको उखान टुक्काले जो–कोही आकर्षित हुने गर्छन् ।
इन्जिनियर वस्तीको सूक्ति–सङ्ग्रहलाई १५ खण्डमा विभाजित गरिएको छ, जसमा करिब ७ सय ५० वटा सूक्तिहरु समाविष्ट गरिएका छन् । सूक्ति रचनाकार वस्तीका अनुसार लेखाइका क्रममा पुराना सूक्तिहरुलाई शुरुका खण्डमा र नयाँ सूक्तिहरुलाई क्रमशः पछिल्ला खण्डहरुमा राखिएको छ ।

फेसबुकका साथीहरुले सूक्तिहरुको सँगालो तयार पारे चाणक्यनीति नै बन्न सक्ने भनी लेखकलाई हौस्याएको कुराले नै यो सूक्ति–सङ्ग्रह तयार भई प्रकाशन भएको बुझिन्छ । यो कृतिलाई भिन्न प्रकृति र प्रवृत्तिको आस्वाद एवं उपादेयता भएको रुपमा मान्न सकिन्छ । नेपाली पाठक–जगत्का लागि निकै मार्मिक र प्रेरणदायी हुन सक्ने एक उत्कृष्ट नवयुगीन कोसेलीका रुपमा समेत यस कृतिलाई लिन सकिन्छ ।

यस कृतिमा विशाल सूक्तिराशि छ, जसमा सबैभन्दा थोरै तीन शब्ददेखि बढीमा ९० शब्दसम्मका सूक्तिहरु समाहित गरिएका छन् । सबैभन्दा कम शब्दको ‘शत्रुबाट पनि सिक’ (खण्ड–क, पृष्ठ १) भन्ने सूक्ति सटिक र शिक्षाप्रद छ । तर सृष्टि एवं श्रुतिपरम्परासम्बन्धी (खण्ड–ठ, पृष्ठ ५२) मा उल्लिखित सूक्ति धेरै लामो लगभग ९० शब्द भएकाले पाठकलाई अल्छी लाग्न सक्छ ।
तर पनि यस कृतिमा समाविष्ट सबै सूक्तिहरु मानवजीवनका लागि उपयोगी अर्थात् शिक्षाप्रद नै छन् । कतिपय सूक्तिहरु त वर्तमान राजनीतिक परिवेश र पात्रमा पनि लागू भएको देखिन्छ । उदाहरणका लागि ‘धेरै बोलेर होइन, धेरै गरेर देश बन्छ’ (पृष्ठ ५५) भन्ने सूक्ति वर्तमान प्रधानमन्त्री बालेन्द्र साहमा लागू भएको देखिन्छ ।

‘बोली र गोली उस्तै हुन्, छोडेपछि फर्कंदैनन्’ (खण्ड ग) । यस सूक्तिले मानिसलाई सतर्क गराउँछ । बोल्दा र गोली चलाउँदा सोचेर मात्रै गर्नुपर्छ, नत्र त्यो पश्चात्ताप कहिल्यै मेटिँदैन भन्ने सन्देश यसले दिन्छ ।
विभिन्न विधाका दुई दर्जन बढी पुस्तक लेखेर लेखन अभ्यासमा ताखारिनुभएका ई. गणेश वस्तीको यो सूक्ति–सङ्ग्रहमा समाहित हरेक सूक्तिले मानिसलाई सद्बुद्धि र सत्मार्गतिर डो¥याउन मद्दत गर्ने देखिन्छ । त्यसैले विद्यार्थी, शिक्षक, प्रशासक, राजनीतिज्ञ, धर्मानुरागी एवं दुश्चरित्र भएका व्यक्ति नै किन नहुन्, सबैका लागि यो सूक्ति–सङ्ग्रहको अध्ययन उपयोगी हुनेछ ।