रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान


काठमाडौँ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा योगदान पुर्‍याउने अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको हो।

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एमडीआरटी (Million Dollar Round Table) हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। उनीहरूलाई उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यवसायिक वृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा प्रा. डा. भगवान कोइराला र डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूलाई कम्पनीको सफलताको प्रमुख आधारका रूपमा उल्लेख गरे। उनले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा कम्पनीको आगामी व्यवसायिक रणनीति, व्यवसाय विस्तारका सम्भावना तथा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो। साथै, सहभागी अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान तथा सफलताका यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा र व्यवसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।