गर्भ नै नक्कली हो? भन्दै ट्रोल भएपछि एनी ह्याथवेले दिइन् यस्तो जवाफ


हलिउड अभिनेत्री एनी ह्याथवे तेस्रो सन्तानको गर्भवती छिन्। तर, पछिल्लो समय उनको गर्भावस्थामाथि नै सामाजिक सञ्जालमा प्रश्न उठेपछि अभिनेत्रीले मजेदार जवाफ दिएकी छन्।

नयाँ फिल्मको लस एन्जलस प्रिमियरमा ह्याथवे हल्टर टप र लो–राइज डेनिममा पुगेकी थिइन्। उनको लुक्सले प्रशंसा पाए पनि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको बेबी बम्प कृत्रिम भएको भन्दै टिप्पणी गरे।

कतिपयले त उनी वास्तवमै गर्भवती भए–नभएको समेत प्रश्न गरे। त्यसपछि ह्याथवेले कुनै लामो स्पष्टीकरण नदिई इन्स्टाग्राममा प्रिमियरको भिडियो सेयर गर्दै लेखिन्, ‘फेक हेयर, रियल बम्प।’

अभिनेत्रीको यो छोटो तर व्यंग्यात्मक जवाफ अहिले चर्चामा छ। उनका प्रशंसकहरूले भने गर्भावस्थामा महिलाको शरीर फरक–फरक देखिन सक्ने भन्दै यस्तो व्यक्तिगत विषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्।

४३ वर्षीया ह्याथवे र उनका पति एडम शुलम्यानका यसअघि दुई छोरा छन्। तेस्रो सन्तानको लिंग भने उनीहरूले सार्वजनिक गरेका छैनन्।