काठमाडौँ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको आलोचना गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले देशमा सर्वसाधारण नागरिकसँगै जनप्रतिनिधिसमेत सुरक्षित नरहेको दाबी गरे। उनले प्रधानमन्त्रीको कार्यशैली र संसद्प्रतिको जवाफदेहितामाथि प्रश्न उठाउँदै पछिल्लो साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि त्यसलाई बेवास्ता गरिएको आरोप लगाए।
देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक विषयलाई लिएर झडप, आगजनी र धम्कीका घटना भइरहे पनि दोषीमाथि प्रभावकारी कारबाही हुन नसकेको राईको भनाइ छ। यस्ता घटनाले सरकारको कमजोरी प्रस्ट पारेको उनले बताए।
राईले नागरिकका दैनिक समस्या र सेवा–सुविधाको अभावप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाए। मन्त्रीहरू एसी कोठामा सीमित हुँदा सडकमा ग्यासका लागि घण्टौँ लाइन बस्ने तथा न्यायको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेका नागरिकको पीडा बुझ्न नसकेको उनको टिप्पणी थियो।
वैदेशिक रोजगारीका नाममा युवाहरू ठगीमा परिरहेको र ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य हुनु देशभित्र अवसरको अभावको संकेत भएको उनले बताए। ठगी गर्नेहरूमाथि प्रभावकारी कारबाही हुन नसकेको भन्दै उनले सरकारलाई प्रश्न गरे।
त्यस्तै, लामो समयदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्बासी तथा वास्तविक भूमिहीन नागरिकले अझै धनीपुर्जा प्राप्त गर्न नसकेको विषयमा पनि राईले सरकारको ध्यानाकर्षण गराए। स्थानीय तह वा अन्य निकायलाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै संघीय सरकारले आवश्यक समन्वय गरी भूमिहीनको समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।
राईले सरकारसँग आश्वासनभन्दा ठोस कामको अपेक्षा रहेको बताए। धार्मिक स्थलमा आगजनी, तोडफोड तथा हिंसामा संलग्न जोसुकै भए पनि राजनीतिक आस्था नहेरी कानुनअनुसार कारबाही गर्नुपर्ने उनले माग गरे। साथै, दण्डहीनताको अन्त्य गर्दै कानुनी शासन स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्रीलाई संसद्सँग संवाद गर्न, नैतिक तथा पदीय जिम्मेवारी बहन गर्न र जनतामाझ पुगेर उनीहरूका समस्या बुझ्न आग्रह गर्दै राईले देशलाई अहिले भाषणभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य आवश्यक रहेको बताए।
खेलकुद क्षेत्रको अवस्थाबारे पनि बोल्दै अध्यक्ष राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले पर्याप्त सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी विदेशमा अलपत्र पर्ने तथा उपचारका लागि सहयोग नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।











प्रतिक्रिया