ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


काठमाडौँ।

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल रलक्ष्मी सन्राइज बैंकको आयोजनामा साउन २४ गते पुँजी बजार साक्षरता, लगानीका अवसर तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षालाई ध्यानमा राख्दै धितोपत्र बजारका विभिन्न संयन्त्र, लगानी गर्ने तरिका, लगानीका फाइदा तथा सम्भावित चुनौतीका विषयमा जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल वित्तीय कारोबारका उपायबारे समेत सहभागीलाई विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले नियमित बचत गर्ने बानीसँगै सानो रकमबाट पनि सुरक्षित लगानीको सुरुवात गर्न सकिनेमा जोड दिएका थिए।

‘बचतका साथै लगानी गर्ने बानी बसालौँ र समृद्ध भविष्य निर्माण गरौँ’ भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले सहभागीहरूमा लगानीप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।