काठमाडौँ।
राइड–हेलिङ सेवा प्रदायक याङ्गो राइडले आफ्ना चालक साझेदारलाई मोटरसाइकल खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको छ।
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गत सञ्चालन भइरहेको याङ्गो राइडका अनुसार यो साझेदारीअन्तर्गत योग्य ‘याङ्गो प्रो’ चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकल २४ महिनासम्म शून्य प्रतिशत ब्याज (मार्कअप), ४० प्रतिशत डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधासहित खरिद गर्न सक्नेछन्।
कम्पनीले यस सुविधाले चालक साझेदारलाई आफ्नै सवारीसाधनमा लगानी गर्न तथा आम्दानी विस्तार गर्न सहयोग पुग्ने जनाएको छ।
साझेदारीकै अवसरमा याङ्गोले ‘इनभाइट रश’ अभियान पनि सार्वजनिक गरेको छ। उक्त अभियानअन्तर्गत उत्कृष्ट चार जना चालक साझेदारले बजाज मोटरसाइकल पुरस्कारस्वरूप जित्ने अवसर पाउनेछन्।
अभियान जुलाई ३१, २०२६ सम्म सञ्चालन हुनेछ। सहभागी हुन हालका चालक साझेदारले आफ्नो युनिक रेफरल कोड प्रयोग गरी नयाँ चालकलाई याङ्गो प्लेटफर्ममा आबद्ध गराउनुपर्नेछ। रेफर गरिएको चालकले सफलतापूर्वक दर्ता भई १५ दिनभित्र १३० वटा राइड पूरा गरेपछि मात्र रेफरल मान्य हुने कम्पनीले जनाएको छ।
याङ्गो राइड नेपालका कन्ट्री प्रमुख सन्तोष पाण्डेले चालक साझेदारहरू कम्पनीको सफलताको आधार भएको उल्लेख गर्दै उनीहरूका लागि थप अवसर र सुविधा सिर्जना गर्न निरन्तर काम गरिरहेको बताए।
“बजाजसँगको यो साझेदारीले चालक साझेदारलाई मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ। साथै ‘इनभाइट रश’ अभियानमार्फत प्लेटफर्म विस्तारमा योगदान गर्ने चालकलाई प्रोत्साहनसमेत मिल्नेछ,” उनले भने।
याङ्गोका अनुसार बजाज नेपालसँगको सहकार्यले चालक साझेदारको आर्थिक पहुँच विस्तार गर्नुका साथै नेपालमा बढ्दो राइड–हेलिङ सेवाको माग पूरा गर्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया