कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ


काठमाडौँ ।

कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ सालघारीबाट कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकायासहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएपछि उनीहरूमाथि सोधपुछ तथा जाँच गर्दा मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको थियो। थप अनुसन्धानका क्रममा विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका–१८ मामा भान्जा चोकस्थित डेरामा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरिएको हो।

पक्राउ परेका चारै जनामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।