काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। त्यसअघि भदौ पहिलो साता सचिवालय बैठक बस्ने र त्यही बैठकले केन्द्रीय कमिटीको मिति तय गर्ने सम्भावना छ।
पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा भने ओलीले लामो समयदेखि ‘होल्ड’ गरेका छन्। मस्यौदाका केही विषयमा ओली असन्तुष्ट भएपछि कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेको स्रोतको दाबी छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सचिवालय बैठकको मिति तय भइनसकेको बताए। उनका अनुसार सचिवालय बैठक बसेपछि मात्रै केन्द्रीय कमिटी बैठकको मिति तय हुनेछ।
कार्यदलको प्रतिवेदनमा उल्लेख ‘समग्र पार्टी पुनर्गठन’ शब्दप्रति ओली असन्तुष्ट रहेको बताइएको छ। पुनर्गठनका क्रममा नेतृत्व परिवर्तनको माग उठिरहेका बेला ओलीले हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नेतृत्व समयअगावै छाड्न नहुने धारणा राख्दै आएका छन्।











प्रतिक्रिया