काठमाडौँ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, कार्यरत पदमै निरन्तरता र सेवा–सुविधाको सुनिश्चितता माग गरेको छ। समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने तथा करार कर्मचारीलाई दसैँ पेस्की, पोसाक, प्रशिक्षण, दुर्गम र स्थानीय भत्तालगायत सुविधा दिनुपर्ने माग अघि सारेको छ।
मासिक ज्यालादारी कर्मचारीलाई यथावत् काम गर्न दिनुपर्ने, ड्रेसलगायतका सुविधा उपलब्ध गराउनुपर्ने र आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि विभेद वा प्रतिशोध नगर्न समितिले माग गरेको छ।
समितिले मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गर्दै व्यवस्थापनसँग संवाद र सहमतिबाट समस्या समाधान गर्न तयार रहेको जनाएको छ। माग पूरा नभएसम्म खबरदारी आन्दोलन जारी राख्ने समितिको भनाइ छ।











प्रतिक्रिया