खोटाङ । खोटाङका ३१ वर्षीय पंकी (रोशन) राई १० महिना वैदेशिक रोजगारीपछि नेपाल फर्कनुभयो । नेपालको कुना–कन्दरा क्यामेरा, ट्राइपोट लगायत फोटोग्राफी र बन्दोबस्तीका सामग्रीलाई सहयात्री बनाउनुभयो ।
आफू घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख राईमा छ । अनेक यात्राको क्रममा बटुलेको दुःख–कष्टको सँगालो उहाँसँग रहेको छ । राईले हालै कोशी प्रदेश स्तरीय फोटोग्राफीको उपाधि जित्नुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगिताबाट उहाँले उपाधि पाउनुभएको हो । राईले कैद गर्नुभएको तस्वीरलाई ‘घाँसे मैदान र गोठालाको जीवन ः मुन्दुम पदमार्गको जीवन्त कथा’ शीर्षक दिइएको छ । उक्त फोटो नेपालको सय गन्तव्यमा सूचीकृत मुन्दुम पदमार्गको सालपा–सिलिचुङअन्तर्गत पर्दछ ।
उहाँले भन्नुभयो, ‘मैले संयोगवश आईफोन थटिन प्रो म्याक्सले खिचेको फोटो हो दाइ ।’ बोबाइल फोन भाइले विदेशबाट पठाइदिएको पनि उहाँले स्पष्ट पार्नुभयो । दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका पंकीले भन्नुभयो, ‘क्यामेराको ब्याट्री सकिएको थियो । एउटा भाइले संरक्षित पोखरीनजिक भेडाको बथान चराउँदै थियो अनि मैले फोटो खिच्छु है भनी सोधेर फोटो खिचेको थिएँ ।’
उहाँले त्यसबाहेक पनि १०–१५ वटा फोटो इन्स्टाग्राममार्फत नेपाल सरकार पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशलाई पठाउनुभएको थियो । पंकीको भनाइ छ, ‘निकास भन्ने ठाउँबाट केही साथीहरु अर्को बाटो जाने भए, अनि म र बाँकी अर्को बाटो, त्यति बेला खिचेको फोटो हो ।’ पहिलोपटक सोही ट्रेलमा जाँदा कुहिरोको कारण धोद्रे भन्ने ठाउँदेखि फर्किनुपरेको कथा पनि सुनाउनुभयो ।
राई उपाधिसँगै नगद ७० हजार रुपियाँले पुरस्कृत हुनुभएको छ । यो उपाधिसँगै फोटोग्राफी क्षेत्रमा थप लाग्नुपर्ने महशुस भएको उहाँ बताउनुहुन्छ । उत्साहित राई फोटोग्राफी व्यावसायिक नभई सोख भएको सुनाउनुहुन्छ । आत्मसन्तुष्टिको लागि यस्तो कार्य गरिरहेको उहाँले जनाउनुभयो । हिमाल, पहाड, तराईको विभिन्न स्थानमा डुलेर फोटो÷भिडियो संकलन गरेको पंकीले बताउनुभयो । नदेखिएको स्थान, नपुगेको स्थान देखाउने र जानकारी गराउने राईको मुख्य ध्येय रहेको छ ।
आफ्नो इच्छा, धैर्यता र लगनशीलता भए नसोचेको पनि सफलता मिल्दो रहेछ भन्ने पंकी (रोशन) राईको सन्देश छ । जिल्लामा पंकीजस्तै अन्यले पनि उही खालको कार्यबाट देश–विदेश चिन्ने र चिनाउने गरिरहनुभएको छ ।











प्रतिक्रिया