टेक्सासमा गर्भवती पत्नीको हत्या अभियोग लागेका एक अमेरिकी नागरिकलाई अमेरिकामा फिर्ता पठाउने प्रक्रिया इटालीको अदालतले हालका लागि रोकेको छ।
ली गिली नामका ती व्यक्तिमाथि सन् २०२४ मा आफ्नी नौ साताकी गर्भवती पत्नी क्रिस्टा बाउर गिलीको घाँटी थिचेर हत्या गरेको अभियोग लागेको छ। उनीमाथि अमेरिकाको टेक्सास राज्यमा पूँजीगत हत्या (क्यापिटल मर्डर) मुद्दा चलिरहेको थियो। तर, मुद्दाको सुनुवाइ सुरु हुनुअघि नै उनले मे महिनामा खुट्टामा लगाइएको इलेक्ट्रोनिक निगरानी उपकरण (एन्कल मोनिटर) काटेर भागेका थिए।
अमेरिकी अभियोजन पक्षका अनुसार गिली ह्युस्टनबाट क्यानडा पुगेका थिए र त्यहाँबाट नक्कली बेल्जियमको राहदानी प्रयोग गर्दै इटालीको मिलान पुगेका थिए। उनले राहदानीमा ‘लेजुन जाँ लुक ओलिभियर’ नाम प्रयोग गरेका थिए। तर, इटाली प्रवेश गर्न नपाएपछि उनी अध्यागमन नियन्त्रणमा परेका थिए।
निर्वासनको प्रक्रियामा रहँदा उनले आफ्नो वास्तविक परिचय खुलाएका थिए र अमेरिकामा पत्नीको हत्या अभियोगमा मुद्दा चलिरहेको जानकारी दिएका थिए। मे ११ मा भएको सुनुवाइमा उनले इटालीमा शरण माग्दै आफू मृत्युदण्डको डरका कारण त्यहाँ पुगेको बताएका थिए। इटालीमा मृत्युदण्डको व्यवस्था छैन।
हाल इटालीको अपिल अदालतले अमेरिकासँग गिलीलाई फिर्ता पठाइएमा उनलाई मृत्युदण्ड वा बिना पैरोल आजीवन कारावासको सजाय नदिइने ग्यारेन्टी मागेको छ। अदालतले अमेरिकी अधिकारीहरूलाई आगामी अगस्ट ३१ भित्र जवाफ दिन समय दिएको छ भने सेप्टेम्बर ७ मा अर्को सुनुवाइ हुने तय भएको छ। त्यसपछि मात्र प्रत्यर्पण गर्ने वा नगर्नेबारे निर्णय हुनेछ।
घटना गत अक्टोबर ७, २०२४ मा भएको थियो। त्यस दिन गिलीले प्रहरीलाई फोन गरेर आफ्नी नौ साताकी गर्भवती पत्नी क्रिस्टाले अत्यधिक औषधि सेवन गरेर आत्महत्या गरेको बताएका थिए। उनलाई अस्पताल लगिएको थियो, जहाँ अक्टोबर ८ मा मृत घोषणा गरिएको थियो।
तर, पोस्टमार्टम रिपोर्टले घाँटी थिचिएकै कारण मृत्यु भएको पुष्टि गरेपछि घटनालाई हत्या घोषणा गरिएको थियो। त्यसको केही दिनपछि गिली पक्राउ परेका थिए। उनी एक मिलियन अमेरिकी डलर धरौटीमा रिहा भएका थिए। धरौटीको सर्तअनुसार उनले राहदानी बुझाउनुपर्ने र खुट्टामा इलेक्ट्रोनिक निगरानी उपकरण लगाउनुपर्ने थियो।
क्रिस्टाका परिवारले गिली भाग्न सफल भएको घटनाप्रति निराशा व्यक्त गरेका छन्। उनीहरूका वकिल टिम ब्यालेन्जीका अनुसार परिवारले अदालतमार्फत न्यायको अपेक्षा गरेको थियो र गिलीलाई कानुनी रूपमा जिम्मेवार ठहर गरियोस् भन्ने चाहना राखेको छ।
यता, गिलीले भने आफू निर्दोष रहेको दाबी गर्दै पत्नीको हत्या नगरेको बताएका छन्। उनका अनुसार आफूले गरेको एकमात्र अपराध अमेरिका छाडेर भाग्नु मात्र हो।
अमेरिकाको ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयले अमेरिकी तथा इटालीका अधिकारीहरूसँग समन्वय गरी गिलीलाई अमेरिका फिर्ता ल्याउने प्रयास जारी रहेको जनाएको छ।
स्रोत: पीपुल











प्रतिक्रिया