‘डोपामिन’मा स्वास्थ्य जगत्को कथा र मानवीय मनोदशाको उत्खनन

1.32k
Shares

नेपाली कथा साहित्यमा विषयवस्तुको विविधता, शिल्पगत प्रयोग र सामाजिक यथार्थको प्रस्तुति निरन्तर विस्तार हुँदै आएको छ । कुनै समय कथा भनेको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, वर्गीय विभेद वा राजनीतिक चेतनाका सीमित विषयमा केन्द्रित हुने कार्य हो भन्ने बुझाइ थियो । तर, समयसँगै नेपाली कथाले जीवनका नयाँ–नयाँ क्षेत्रलाई आफ्नो विषय बनाउँदै आएको छ । अस्पताल, चिकित्सा विज्ञान, मानसिक स्वास्थ्य, औषधि, प्रविधि, पेसागत नैतिकता र आधुनिक जीवनका जटिल मनोवैज्ञानिक अवस्थासमेत नेपाली कथाका विषय बन्न थालेका छन् । यही बदलिँदो कथात्मक प्रवृत्तिको एउटा उल्लेखनीय उदाहरण हो– लक्ष्मण अधिकारीको दोस्रो कथा सङ्ग्र्रह ‘डोपामिन’ ।

कामना न्यूज पब्लिकेसन्स् प्रा.लि.बाट प्रकाशित करिब दुई सय पृष्ठको यस कथा सङ्ग्र्रहमा १८ वटा कथा समावेश छन् । ५७५ रुपैयाँ मूल्य तोकिएको ‘डोपामिन’ कथाकार अधिकारीको पहिलो कथा सङ्ग्रह ‘मर्फिन’पछिको दोस्रो महत्वपूर्ण कृति हो । ‘मर्फिन’ले चिकित्सा क्षेत्रभित्रका विकृति, विसङ्गति, अनैतिकता र मानवीय कमजोरीलाई अत्यन्त रोचक ढङ्गले प्रस्तुत गर्दै नेपाली पाठकमाझ उल्लेखनीय सफलता हासिल गरेको थियो । त्यसैले ‘डोपामिन’का अगाडि स्वाभाविक रूपमा एउटा चुनौती थियो– पहिलो कृतिले निर्माण गरेको अपेक्षालाई कसरी सम्बोधन गर्ने ? यस अर्थमा ‘डोपामिन’ केवल अर्को कथा सङ्ग्र्रह होइन, ‘मर्फिन’ले सिर्जना गरेको साहित्यिक अपेक्षासँगको सम्बोधन पनि हो ।
कथाकार लक्ष्मण अधिकारी स्वास्थ्य पत्रकारिताका अनुभवी साधक हुन् । दशकौँसम्म स्वास्थ्य मासिकको सम्पादनमा सक्रिय रहेका उनले पत्रकारितामा हासिल गरेको अनुभवलाई कथा साहित्यमा रूपान्तरण गरेका छन् । पत्रकारिताको सबैभन्दा महत्वपूर्ण विशेषता हो– समाजका सूक्ष्म गतिविधि, लुकेका व्यवहार र सामान्य आँखाले नदेखेका यथार्थलाई नजिकबाट नियाल्ने क्षमता । अझ विधागत पत्रकारिता अर्थात् ‘बिट जर्नलिजम’ले पत्रकारलाई एउटा निश्चित क्षेत्रमा लामो समयसम्म डुबेर काम गर्ने अवसर दिन्छ । त्यस क्रममा पत्रकारले विषय मात्र जान्दैन, विषयभित्रका मान्छे, सम्बन्ध, संरचना, प्रवृत्ति, कमजोरी र अन्तरविरोधसमेत बुझ्न थाल्छ । अधिकारीको कथाकारिताको मौलिक शक्ति यही अनुभवमा आधारित देखिन्छ ।

‘डोपामिन’का कथाहरूमा अस्पताल, औषधि, चिकित्सक, नर्स, शल्यक्रिया, सघन उपचार कक्ष, फार्मेसीजस्ता स्वास्थ्य क्षेत्रका शब्दावली स्वाभाविक रूपमा आउँछन् । तर, सङ्ग्र्रहको महत्व केवल चिकित्सकीय परिवेशको चित्रणमा सीमित छैन । स्वास्थ्य क्षेत्र यहाँ एउटा पृष्ठभूमि मात्र हो, त्यसको केन्द्रमा भने मानिस छ । मानिसको लोभ, प्रेम, यौनिकता, असुरक्षा, पीडा, मानसिक तनाव, पारिवारिक विघटन, सामाजिक दबाब र अस्तित्वगत संघर्ष कथाका मूल विषय बनेका छन् । यस दृष्टिले ‘डोपामिन’लाई स्वास्थ्य क्षेत्रका कथाहरूको सङ्ग्र्रह मात्र भन्नु यसको साहित्यिक क्षमतालाई सीमित गर्नु हुनेछ । वास्तवमा यो मानव मनको कथा हो, जसले स्वास्थ्य क्षेत्रलाई प्रवेशद्वार बनाएर समकालीन नेपाली समाजको मनोविज्ञानको आकाश उघार्ने काम गरेको छ ।

अगाडि भनिएजस्तै ‘मर्फिन’मा चिकित्सा जगत्का विकृति र विसङ्गतिलाई कथाकारले निकै साहसका साथ उजागर गरेका थिए । विशेषतः चिकित्सा क्षेत्रमा देखिने यौन व्यवहार र पेसागत नैतिकताका प्रश्नहरूलाई उनले पाठकलाई चकित पार्ने गरी प्रस्तुत गरेका थिए । ती कथाहरू पढ्दा पाठकले ‘यो त समाचारको खोजी रिपोर्ट हुन सक्थ्यो’ भन्ने अनुभूति गरेका थिए । कतिपय कथा त ‘स्कूप’ फिचरका उत्कृष्ट नमुनाजस्ता लाग्थे । तर, कथाको शक्ति त्यतिमै सीमित थिएन । समाचारमा तथ्यको महत्व हुन्छ भने कथामा तथ्यलाई मानवीय अनुभूति र कलात्मक संरचनाले जीवन्त बनाउँछ । अधिकारीले यही पत्रकारितामूलक तथ्यलाई कथात्मक कल्पना र आख्यानात्मक शिल्पसँग जोड्ने प्रयास गरेका छन् ।

‘डोपामिन’मा पनि यही प्रवृत्ति देखिन्छ । तर यसपटक कथाकारको दृष्टि केही हदसम्म बाह्य विकृतिको अनावरणबाट मानवीय मनको आन्तरिक संसारतर्फ सरेको छ । मानसिक समस्यासँग जुधिरहेका पात्रहरू, पारिवारिक तथा सामाजिक दबाबले थिचिएका व्यक्तिहरू र आधुनिक जीवनको जटिलतामा आफ्नो अस्तित्व खोजिरहेका पात्रहरू यस सङ्ग्र्रहका उल्लेखनीय पक्ष हुन् । यहाँ रोग केवल शरीरमा हुँदैन । सम्बन्धमा पनि रोग हुन्छ, परिवारमा पनि रोग हुन्छ, संस्थामा पनि रोग हुन्छ र कहिलेकाहीँ समाजको सामूहिक चेतनामै रोग लागिरहेको हुन्छ ।
कथा साहित्यको मूल शक्ति घटनामा मात्र हुँदैन । घटना त समाचारमा पनि हुन्छ ।

कथाले घटनालाई अनुभवमा रूपान्तरण गर्छ । पात्रको बाहिरी गतिविधिभन्दा उसको भित्री कम्पन, मौनता, द्विविधा, चाहना र भयलाई कथा साहित्यले समात्छ । ‘डोपामिन’का कथाहरूमा यही मनोवैज्ञानिक आयामलाई विशेष महत्व दिइएको पाइन्छ । फरक उमेर, वर्ग, पारिवारिक पृष्ठभूमि र सामाजिक परिवेशका पात्रहरू यहाँ उपस्थित छन् । उनीहरू सबैका समस्या एउटै छैनन्, तर उनीहरूको पीडाको एउटा साझा मानवीय धरातल छ । यस अर्थमा ‘डोपामिन’का कथाहरू स्वास्थ्य क्षेत्रको ‘बिट’बाट शुरु भएर व्यापक सामाजिक मनोविज्ञानमा पुग्छन् ।
स्वास्थ्य मानव जीवनको पहिलो र आधारभूत सरोकार हो । कसैलाई भेट्दा हामी प्रायः पहिलो प्रश्न गर्छौं– ‘सन्चै हुनुहुन्छ ?’ लामो समयपछि भेटिएका साथी वा दम्पतीबीच पनि ‘तिमीलाई सन्चै छ ?’ भन्ने प्रश्नले भावनात्मक सम्बन्धको गहिराइ व्यक्त गर्छ । स्वास्थ्यप्रतिको यही मानवीय सरोकारलाई कथाकारले सामाजिक र राजनीतिक अर्थसँग पनि जोड्न खोजेका छन् ।

शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा स्वीकार गरेको नेपालको संवैधानिक संरचनासँग पनि ‘डोपामिन’का कथाहरूले अप्रत्यक्ष संवाद गर्छन् । स्वास्थ्यलाई केवल व्यापारिक वस्तु बनाउने प्रवृत्ति, स्वास्थ्य सेवामा देखिने असमानता, आर्थिक अवस्थाका आधारमा उपचारको अवसरमा हुने भिन्नता र स्वास्थ्य संस्थाभित्रका मानवीय तथा नैतिक प्रश्नहरू आजको नेपाली समाजका गम्भीर विषय हुन् । त्यसैले स्वास्थ्य क्षेत्रका कथाहरू केवल डाक्टर, बिरामी र अस्पतालका कथा होइनन् ।

ती राज्य, बजार, वर्ग र नागरिक अधिकारका कथासमेत हुन् ।नेपाली कथा साहित्यमा पत्रकार पृष्ठभूमिका लेखकहरूको योगदान निकै महत्वपूर्ण रहेको छ । पत्रकारले समाजको प्रत्यक्ष जीवनसँग नजिक भएर काम गर्छ । उसले मानिसका आवाज सुन्छ, घटनाको तहसम्म पुग्छ, दस्तावेज र तथ्यसँग परिचित हुन्छ र समाजका लुकेका पक्षलाई देख्छ । तर, पत्रकारिता र कथा साहित्यको विधागत भिन्नता पनि उत्तिकै महत्वपूर्ण छ । पत्रकारिताले प्रमाण खोज्छ, कथाले सत्यको अनुभूति खोज्छ । पत्रकारिताले घटनाको तथ्य प्रस्तुत गर्छ, कथाले त्यस तथ्यभित्रको मानवीय अर्थ अन्वेषण गर्छ । अधिकारीको कथाकारिताको मूल्याङ्कन गर्दा यही द्वन्द्व र संवादलाई पनि ध्यान दिनुपर्छ ।

उनका कथामा पत्रकारिताको तथ्यपरकता र आख्यानको कल्पनाशीलता एक–अर्कासँग निरन्तर संवाद गरिरहेका देखिन्छन् । कहिलेकाहीँ यही कारणले कथाहरू ‘टेक्निकल’ वा विषयकेन्द्रित देखिन सक्छन् । तर, विषयगत विशिष्टता आफैँमा कमजोरी होइन । सङ्ग्र्रहको समग्र मूल्याङ्कन गर्दा यसले नेपाली कथालाई स्वास्थ्य र मानसिक संसारको एउटा विशिष्ट भूगोल प्रदान गरेको देखिन्छ ।
प्रा. दयाराम श्रेष्ठ सम्भवले ‘डोपामिन’का बारेमा लेखेको टिप्पणीले पनि यही पक्षलाई समेट्छ । उनका अनुसार यो सङ्ग्र्रह आख्यानात्मक सीप र साहित्यिक इमानदारीको उदाहरण हो । पात्रविधान र कथात्मक दृष्टिविन्दुको प्रयोगमा कथाकार चिप्लिएका छैनन् । यस टिप्पणीले अधिकारीको कथा लेखनमा रहेको एउटा महत्वपूर्ण गुणतर्फ संकेत गर्छ– उनी विषयसँग नजिक छन्, तर विषयको भावनात्मक वा नैतिक निर्णय पाठकलाई नै गर्न दिन्छन् ।

वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले कथाकार अधिकारी समाजमा दबेर र दबाएर राखिएका विकृति एवं विसङ्गतिलाई शब्दका माध्यमबाट उजागर गरी समाजलाई ऐना देखाउन सिद्धहस्त भएको उल्लेख गरेका छन् । वास्तवमा ‘डोपामिन’को सबैभन्दा ठूलो सामाजिक भूमिका यही ऐनाको भूमिकामा खोज्न सकिन्छ । साहित्यले समाजलाई केवल सुन्दर देखाउने काम गर्दैन । कहिलेकाहीँ उसले समाजको अनुहारमा रहेका दाग देखाउँछ । अस्पतालको सेतो भित्ताभित्र लुकेका अँध्यारा व्यवहार, औषधिको गन्धभित्र लुकेको व्यापार, उपचारको आशाभित्र लुकेको असमानता र आधुनिक जीवनको चमकभित्र दबिएको मानसिक पीडा– यी सबैलाई कथा साहित्यले देखाउन सक्छ । ‘डोपामिन’ त्यही देखाउने प्रयत्न हो ।

कथाकार अधिकारीको पहिलो सङ्ग्रह ‘मर्फिन’ले निर्माण गरेको लोकप्रियता दोस्रो सङ्ग्रहका लागि चुनौती अवश्य थियो । तर सफल पहिलो कृतिपछि लेखकले उही विषय र उही शैली दोहो¥याउनुको सट्टा आफ्नो कथा संसारलाई अझ विस्तार गर्ने प्रयास गरेका छन् । ‘मर्फिन’को चकित पार्ने चिकित्सा संसारबाट ‘डोपामिन’को मनोवैज्ञानिक र सामाजिक संसारतर्फको यात्रालाई यसै अर्थमा बुझ्न सकिन्छ ।

आजको नेपाली कथा साहित्यमा पाठकले केवल मनोरञ्जन खोजिरहेको छैन । ऊ आफ्नै समय, समाज र जीवनको प्रतिविम्ब खोजिरहेको छ । पाठकलाई कथा पढ्दा ‘यो त हाम्रो समाजकै कुरा हो’ भन्ने अनुभूति हुनुपर्छ । त्यसका लागि कथाकारले जीवनलाई नजिकबाट हेर्नुपर्छ । लक्ष्मण अधिकारीको लामो स्वास्थ्य पत्रकारिताले उनलाई यही अवसर दिएको छ । अस्पतालका गल्ली, चिकित्सकीय भाषा, बिरामीका पीडा, स्वास्थ्यकर्मीका व्यवहार र समाजका अदृश्य दबाबहरू उनका लागि केवल विषय होइनन्, दीर्घ अनुभवका क्षेत्र हुन् ।

त्यसो त साहित्यमा विषयको ज्ञान मात्र पर्याप्त हुँदैन । त्यसलाई कलामा रूपान्तरण गर्नुपर्छ । ‘डोपामिन’को अन्तिम मूल्याङ्कन यही आधारमा हुनेछ– कथाकारले आफ्नो विशेषज्ञता र अनुभवलाई कति सफलतापूर्वक साहित्यिक आख्यानमा रूपान्तरण गरेका छन् ? प्रारम्भिक पाठकीय प्रतिक्रियाले भने सङ्ग्र्रहप्रति उत्साह देखाएको छ । पहिलो कृतिको सफलताबाट उत्साहित पाठकहरू दोस्रो कृतितर्फ आकर्षित भएका छन् । यो आकर्षणले नेपाली पाठकको रुचिमा आएको परिवर्तनलाई पनि संकेत गर्छ ।

नेपाली साहित्यमा विषयगत विशेषज्ञता भएका लेखकहरूबाट अझ धेरै कथा लेखिनुपर्छ । चिकित्सकले अस्पतालभित्रको जीवन लेख्नुपर्छ, इन्जिनियरले विकासको भूगोल लेख्नुपर्छ, शिक्षकले कक्षाकोठाको मनोविज्ञान लेख्नुपर्छ, पत्रकारले समाजका लुकेका तह लेख्नुपर्छ । जीवनका हरेक क्षेत्र साहित्यका सम्भावित विषय हुन् । यस दृष्टिले लक्ष्मण अधिकारीले स्वास्थ्य पत्रकारिताको आफ्नो दीर्घ अनुभवलाई कथा साहित्यमा ल्याउनु नेपाली कथाको विषयगत विस्तारका लागि स्वागतयोग्य कार्य हो । स्वास्थ्यको प्रश्नबाट शुरु भएर मनुष्यको अन्तर्मनसम्म पुग्ने ‘डोपामिन’ले नेपाली पाठकलाई कथा मात्र पढाउँदैन, समाज र आफूलाई पुनः हेर्ने अवसर पनि दिन्छ । साहित्यको मूल उद्देश्य पनि यही हो भनिन्छ ।