काठमाडौं
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंस्थित रुस हाउसमा सोमबार विशेष समारोह आयोजना गरियो। सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा नेपाल–रुस संसदीय मैत्री समूहका संयोजक एवं पूर्वमन्त्री वर्षमान पुन, नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ र काठमाडौंस्थित रुस हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले ‘रुस–नेपाल : मित्रता र सहकार्यका ७० वर्ष’ विषयक ऐतिहासिक तस्बिर प्रदर्शनीको पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजदूत सुरोभ्त्सेभले सन् २०२५ सेप्टेम्बरमा चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका अवसरमा दुई देशका नेताबीच भएको भेटवार्तालाई स्मरण गर्दै त्यसले द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा दिएको बताए।
उनले नेपाल र रुसका जनस्तरका संस्थाहरूले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। सोभियत संघले नेपाललाई विगतमा गरेको सहयोगप्रति नेपाली जनतामा अझै पनि विशेष आत्मीयता रहेको उल्लेख गर्दै उनले दशकौंको मित्रतामाथि आधारित आधुनिक सहकार्यको नयाँ आधार निर्माण गर्ने रुसको प्रतिबद्धता व्यक्त गरे।

रुस हाउसकी निर्देशक खोख्लोभाले सोभियत संघ तथा रुसका विश्वविद्यालयबाट अध्ययन गरेका हजारौं नेपाली विद्यार्थी दुई देशबीचको सम्बन्धका महत्वपूर्ण सेतु बनेको बताइन्। उनले चार दशकभन्दा बढी समयदेखि रुस हाउसले नेपालमा रुसको मानवीय तथा सांस्कृतिक सहकार्यलाई अघि बढाउँदै आएको उल्लेख गरिन्।
उनका अनुसार नेपाल र रुसका विद्वानहरूले नेपाली युवा पुस्तासामु रुस र रुसी समाजलाई परिचित गराउने तथा नेपाललाई रुसमा चिनाउने कार्यलाई निरन्तरता दिइरहेका छन्। उनले व्यापार, आर्थिक सहकार्य, शैक्षिक अवसर तथा सांस्कृतिक आदानप्रदानलाई आगामी दिनमा थप विस्तार गर्ने विश्वास पनि व्यक्त गरिन्।
कार्यक्रममा नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्यलाई द्विपक्षीय सम्बन्ध प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो। संघलाई पनि नेपाल–रुस मित्रता सुदृढ बनाउन खेलेको भूमिकाको सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरियो।

समारोहमा नेपाल–रुस विज्ञान समाज, मित्र कुञ्ज एलुम्नाइ एसोसिएसन, फ्रेन्ड्स अफ रुडिएन सोसाइटी, नेपाल–रुस साहित्य समाज, नेपाल–रुस उद्योग वाणिज्य संघ तथा शैली थिएटरका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पठाएका शुभकामना सन्देश वाचन गरिएको थियो।
कार्यक्रममा नेपाल र रुस दुवै देशको सांस्कृतिक सम्पदा झल्किने प्रस्तुतीसँग गरिएको थियो। नेपाली परम्परागत नृत्य, याना येलिसेयेभाद्वारा प्रस्तुत शास्त्रीय ब्याले ‘द डाइङ स्वान’, जुजु काजी रञ्जितको सांगीतिक प्रस्तुति तथा भेरा युर्चेन्कोद्वारा प्रस्तुत प्रसिद्ध रुसी गीत ‘नादेझ्दा (होप)’ ले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो। नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापना भएको थियो। त्यसयता शिक्षा, स्वास्थ्य, ऊर्जा, संस्कृति र जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर विस्तार हुँदै आएको छ।











प्रतिक्रिया