काठमाडौं ।
अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार स्थानीय समयअनुसार बुधबार दिउँसो इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरिएको हो।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा इरानी सेनाले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको उल्लेख गरेको छ।
वक्तव्यमा भनिएको छ, ‘यी आक्रमणहरू इरानी सेनाको सैन्य क्षमतालाई थप कमजोर बनाउने उद्देश्यले गरिएका हुन्, जसको प्रयोग हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजलाई लक्षित गर्न सकिन्थ्यो।’
बीबीसी फारसीका अनुसार अमेरिकी आक्रमणपछि इरानले क्षेत्रीय मुलुकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले जोर्डन, बहराइन र कुवेतस्थित अमेरिकी अड्डाहरू सम्भावित निशानामा रहेको बताएका छन्।
यसैबीच, अमेरिकाले इरानको दक्षिणी समुद्री क्षेत्रमा नौसैनिक नाकाबन्दी पुनः सक्रिय बनाएको जनाइएको छ।
इरानले दुई देशबीच युद्धविरामलाई औपचारिकता दिने इस्लामाबाद सम्झौताको अवधि समाप्त भएको दाबी गर्दै अब उक्त सम्झौताले आफूलाई बाँधेर नराख्ने स्पष्ट पारेको छ।
यद्यपि, यी घटनाबारे दुवै पक्षबाट थप विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।











प्रतिक्रिया