काठमाडौं
पोल्यान्डमा एक धातु खोजकर्ता (मेटल डिटेक्टर प्रयोगकर्ता) ले करिब २,७०० वर्ष पुरानो कांस्यको तरबार जमिनमा ठाडै गाडिएको अवस्थामा फेला पारेका छन्। यो दुर्लभ खोजलाई पुरातत्त्वविद्हरूले निकै महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
उत्तरी पोल्यान्डको बाल्टिक सागर नजिक रहेको ग्दान्स्क वन क्षेत्रमा शौकिया खोजकर्ता मार्सिन विश्निएभ्स्कीले उक्त तरबार फेला पारेका हुन्। यो तरबार ईसापूर्व ९०० देखि ७०० वर्षबीचको उत्तर कांस्य युग (लेट ब्रोंज एज) को भएको अनुमान गरिएको छ।
पोमेरेनियन प्रान्तीय सम्पदा संरक्षण कार्यालयले सार्वजनिक गरेका तस्बिरहरूमा तरबार बलौटे माटोमा ठाडै गाडिएको अवस्थामा अत्यन्त राम्रोसँग सुरक्षित रहेको देखिन्छ।
यसअघि पनि विश्निएभ्स्कीले ग्दान्स्क नजिकैको जंगलबाट कांस्य युगका बहुमूल्य पुरातात्त्विक सामग्री फेला पारेका थिए। यसपटक पनि उनले तरबार फेला परेलगत्तै सम्बन्धित सम्पदा संरक्षण निकायलाई जानकारी गराएका थिए।
त्यसपछि पुरातत्त्वविद्हरूले खोजकर्तासँगको सहकार्यमा वैज्ञानिक विधिअनुसार उत्खनन गरी तरबार सुरक्षित रूपमा बाहिर निकालेका थिए।
सम्पदा संरक्षण कार्यालयका अनुसार ग्दान्स्क वन क्षेत्रमा कांस्य युगका तरबार भेटिएको यो पहिलो घटना भने होइन। सन् १९२० को दशकमा पनि रिनार्जेवो क्षेत्रको दलदलबाट कांस्यका दुईवटा प्राचीन तरबार फेला परेका थिए। ती तरबारहरू ग्दान्स्कस्थित प्रान्तीय सङ्ग्रहालयमा राखिए पनि दोस्रो विश्वयुद्धका क्रममा हराएका थिए।
ग्दान्स्कस्थित स्मारक संरक्षण कार्यालयका प्रवक्ता मार्सिन टिमिन्स्कीका अनुसार तरबारलाई कुन सङ्ग्रहालयमा राख्ने भन्ने निर्णय अझै गरिएको छैन। सम्बन्धित सङ्ग्रहालयमा स्थानान्तरण गरी विस्तृत वैज्ञानिक अध्ययन गरेपछि यसको बनावट, प्रयोग र ऐतिहासिक महत्वबारे थप जानकारी सार्वजनिक गरिने उनले बताएका छन्।
स्रोत : न्युयोर्क पोष्ट











प्रतिक्रिया