उदयपुर सिमेन्ट उद्योग दातृ निकायको सहयोगमा सञ्चालन गर्ने तयारी

1.22k
Shares

उदयपुर । 

जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि व्यवसायिक रुपमा गैडा छाप सिमेन्ट उत्पादन सुरु गरेको दक्षिण एशिया कै पहिलो र ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अब दातृ निकायको सहयोगमा संचालनको तयारी भैरहेको संकेत पाइएको छ ।

अहिले आर्थिक रुपले लथालिङ अवस्थामा पुगेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प छ भने उत्पादन भएको सिमेन्ट प्याकिङ गर्ने बोराको अभावले भकारीमा थन्किएर बसेको छ । उद्योगको विभिन्न प्रकारका बैंक खाता मुद्दा मामिलाका कारण रोक्का रहेकोले खातामा रहेको पैसा पनि निकालेर खर्च गर्न सक्ने अवस्था छैन । कुनै खातामा बजारबाट रकम जम्मा भयो भने त्यो रकम सामान सप्लायर्सले निकाल्ने र पुनः खाता बन्द गरेर उद्योगको आर्थिक कारोबार नै रोकिने गरेको छ ।

एक विश्वसनीय श्रोतका अनुसार उद्योगको अवस्था आर्थिक रुपले जर्जर भएको हुँदा यसलाई सुधारेर सञ्चालन गर्न मन्त्रालयमा छलफल भैरहेको छ । र दातृ निकायको आर्थिक सहयोग वा ऋण लिएर सञ्चालन गर्ने भन्ने विषयमा छलफल चलिरहेकोले असोज महिनासम्म परिणामका लागि कुर्नु पर्ने हुन्छ ।

उदयपुर सिमेन्ट उद्योगलाई एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा सञ्चालन गर्ने आन्तरिक तयारी भैरहेकोले यस विषयमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालय बिचमा छलफल हुँदै गरेको अवस्था छ । उद्योगको अवस्थाका बारेमा अध्ययन समिति गठन भएको र सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा कसरी सञ्चालन गर्ने भन्ने बारे निर्णय हुने श्रोतले जनाएको छ । 

यस विषयमा उद्योगका निमित्त महाप्रबन्धक बैधनाथ झाले पनि उद्योग नयाँ व्यवस्थापनका साथमा सञ्चालन गर्न आवश्यक छलफल मन्त्रालयमा भैरहेको र आर्थिक पाटोलाई कसरी समाधान गर्ने हो त्यो भने निर्णय हुन बाँकी रहेको बताए ।

निमित्त महाप्रबन्धक झाले उद्योगभित्र धेरै प्रकारका समस्याहरु रहेका छन् । ती सबै समस्याहरु एकै पटक समाधान हुन नसक्ने भएकोले चरणवद्ध रुपमा समाधान गर्ने र प्राथमिकताका आधारमा काम गर्दै जाने योजना अनुरुप उद्योग संचालनको प्रक्रिया प्रारम्भ हुने बताएका छन् ।

उद्योगका अध्यक्ष एवम् उद्योग मन्त्रालयका सह सचिव युवराज अधिकारीसँग उद्योग संचालनका बारेमा मोवाइलका माध्यमबाट जिज्ञासा राख्दा सरकारसँग उद्योग चलाउन आर्थिक सहयोग माग गरिएको हुँदा सरकारले पैसा दियो भने सञ्चालन हुने कुरा आफूले सुनेको हुँ । पहिले उद्योग कसरी सञ्चालन गर्ने भन्ने हो, उद्योग सञ्चालन भएपछि अन्य कुराहरु पछि हुने बताउनु भयो ।

उहाँले उद्योग सञ्चालन प्रक्रियाका बारेमा योजना तय भैरहेकोले यसको परिणामकालागि असोजसम्म पर्खनु पर्ने अवस्था रहेको बताउनु भयो ।

अहिले उद्योगमा कर्मचारअीहरु स्थायीतर्फ १सय ७५ जना रहेको र सुरक्षा तर्फ करारका ५८ जना रहेका छन् भने आवश्यकता अनुसार कामकालागि दैनिक ज्यालादारी समेत खटाउनु पर्ने अवस्था रहेको छ । तर कर्मचारीहरुले १६ महिनादेखि तलब खान नपाएको अवस्था छ । कर्मचारी सञ्चयकोषको रकम ४ वर्षदेखि जम्मा नभएको, नागरिक लगानी कोषको रकम ३ वर्षदेखि जम्मा नभएको, बिमा वापतको रकम ३ वर्षदेखि नपाएको अवस्था छ । यतिमात्र होइन चार वर्ष अघिदेखि अनिवार्य र स्वैच्छिक अवकासमा गएका कर्मचारीहरुले उद्योगको नियमानुसार पाउनु पर्ने सेवा सुविधा वापतको रकमसमेत नपाएको अवस्था छ ।

अर्को महत्त्वपूर्ण कुरा त केहो भने उद्योगबाट अनिवार्य र स्वैच्छिक अवकासमा गएकाकर्मचारीहरु मध्ये १० जनाले आर्थिक अभावका कारण उपचार नपाएर नै ज्यान गुमाउनु परेको कुरा सबैभन्दा पीडादायी र मर्मस्पर्शी छ । बिरामी भएर अस्पतालको बेडमा सुतिरहेको अवस्थामा आफूले उद्योगबाट पाउनु पर्ने सेवा सुविधा नपाउँदा कस्तो पीडा भयो होला वा हुन्छ होला त्यो हामी सहजै अनुमान लगायन सक्दैनौँ । कतिपयले क्यान्सर जस्तो घातक रोगबाट ज्यान गुमाए । कतिपयले किडनी फेल भएर डायलासिस गराउन नपाएर, कतिपयको मुटुको समस्याले  ज्यान गुमाए । कतिपय पक्षाघात भएर त कतिपय सुगर प्रेसरको समस्याले गर्दा ज्यान गुमाउन बाध्य भएका छन् । कतिपय अहिले देशका विभिन्न ठाउँका अस्पतालका बेडमा आर्थिक अभावले छटपटिरहेका छन् । 

यदि उद्योगको आर्थिक अवस्था बलियो भएको भए अवकास पाएका कर्मचारीहरुले यो हविगत भोग्नु पर्ने थिएन । कुबेर जस्तो हुनु पर्ने उद्योग अहिले सुदामा जस्तो भएर कनिका माग्दै हिड्नु परेको सत्य र तथ्य सरकारका सामु छर्लङ भएको अवस्था रहेकोले यसलाई कुन तरिकाले चलाउँदा पुनः पहिलेको अवस्थामा नै ल्याउन सकिन्छ भन्ने कुरालाई धयान दिएर अघि बढ्नु पर्ने अवस्था रहेको जानकारहरु बताउदछन् ।

उद्योगलाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ, कोइला, मेसिनरी पार्ट पुर्जा लगायतका अनेकौ सामान सप्लायर्स मार्फत ल्याइएको मगाइएकोमा उनीहरुलाई भुक्तानी दिन बाँकी रहेको छ । सबै खाले दायित्व र उद्योगलाई आवश्यक पर्ने खर्च समेत गरेर करिब ३ अर्बको हाराहारीमा उद्योगले भुक्तानी गर्न बाँकी रहेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार विगतमा भएका राजनीतिक नियुक्तिका कारण आर्थिक अनुशासन कायम गर्न नसक्दा उद्योगले अहिले आर्थिक रुपले दुरावस्था भोग्नु परेको हो भने तत्कालिन अवस्थाका संचालक समितिका  पदाधिकारीहरुको लोभी, पापी मनको मौनताले गर्दा पनि उद्योगले अहिलेको अवस्था भोग्नु परेको श्रोतको दाबी छ ।

विगतका काम कुराहरुलाई पन्छाएर अहिले उद्योगलाई कसरी जीवित राख्ने र हालको दायित्व कसरी फरफारक गर्ने भन्ने विषय नै महत्त्वपूर्ण रहेकोले उद्योग सञ्चालन भएमा सबैको हित हुने हुँदा उद्योग संचालनको माध्यम नै पहिलो विकल्पका रुपमा रहेको छ । किनभने उद्योगमा आश्रित सयौँ कदेशले पनिर्मचारी तथा मजदुरहरुको भविष्य जोडिएकोले पनि उद्योग सञ्चालन भएमा पीडित कर्मचारी तथा मजदुरहरुले र देशले आर्थिक रुपमा सम्पन्नतामा आस गर्ने छ ।