सर्लाही ।
सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका २४ वर्षीय अफसर आलम हुसैनलाई सकुशल तल झार्ने प्रयास आइतबार पनि जारी रहेको छ। पछिल्लो जानकारीअनुसार उनी अझै टावरको माथिल्लो भागमै रहेका छन् भने सुरक्षा निकायले उच्च सतर्कताका साथ उद्धार अभियान सञ्चालन गरिरहेको छ। सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियाका स्थायी बासिन्दा हुसैन मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, नेपाल टेलिकमका प्राविधिक तथा स्थानीयवासी घटनास्थलमा पुगेका छन्। उद्धारका क्रममा सुरक्षाकर्मीले उनलाई निरन्तर संवादमार्फत फकाउने प्रयास गरिरहेका छन्। टावरमा जोखिमपूर्ण अवस्था रहेकाले कुनै पनि हतारो नगरी सुरक्षित ढंगले उद्धार गर्ने रणनीति अपनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनास्थलमा सर्वसाधारणको ठूलो भीड लागेकाले सुरक्षा घेरा कडा पारिएको छ।
सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै टावर वरपरको क्षेत्रमा अनावश्यक भीड नगर्न प्रशासनले आग्रह गरेको छ। हालसम्म हुसैन किन टावरको टुप्पोसम्म चढेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन। प्रारम्भिक रूपमा मानसिक तनाव, व्यक्तिगत समस्या वा अन्य कुनै मागसँग घटना जोडिएको हुन सक्ने आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन। प्रहरीले युवकको सकुशल उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै घटनाको वास्तविक कारणबारे समानान्तर रूपमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।











प्रतिक्रिया