कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो


काठमाडौँ।

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृत्यु हुनेमा काठमाडौंको नरदेवीका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार बा ५ च ३०३८ नम्बरको सेतो कार मंगलबार कीर्तिपुर–चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर पूर्ण रूपमा नष्ट भएको थियो।

उक्त कार पनि श्रेष्ठकै नाममा दर्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए।

कारको चालक सिटमै जलेको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो। अनुसन्धानका क्रममा कार मंगलबार बिहान १० बजेर ४६ मिनेटमा उक्त स्थानमा पुगेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार पार्किङ गरेपछि चालक बाहिर ननिस्किएको र केही समयपछि कारभित्रैबाट आगो लागेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।