काठमाडौँ।
काठमाडौंको गोंगबुस्थित एक होटलको कोठाभित्र युवती मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठामा साउन ३ गते बिहान करिब ११ बजे काठको बक्स पलङभित्र एक महिलाको शव फेला परेको थियो।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। प्राविधिक विश्लेषणका आधारमा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारका रूपमा भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्दै आएका २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।











प्रतिक्रिया