शुक्लाफाँटामा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी


कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएका १४ महिलाको खोजी कार्य रातभर जारी रहेको छ। आइतबार बिहान निकुञ्ज प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीयको संयुक्त टोलीले खोजी अभियान थालेको हो। हालसम्म उनीहरू फेला परेको आधिकारिक जानकारी आएको छैन र खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार महिलाहरू नौ र पाँच जनाको दुई समूह बनाएर मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र च्याउ टिप्न गएका थिए। साँझसम्म सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले जंगल क्षेत्रमा प्रवेश गर्दा सम्बन्धित निकायलाई जानकारी गराउन, समूहबाट नछुट्टिन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। खोजी अभियानबाट प्राप्त हुने थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।